Pages

Monday, November 15, 2010

बडादसैंको प्रसाद जमराको वैज्ञानिक महत्त्व

बडादसैंको पहिलो दिन दसैंघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरूपको पूजा  गरिन्छ । यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दसैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप टीकासहित  लगाउने परम्परा छ ।


संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र  प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा  मानिएको छ । गीतामा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् औषधीहरूमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ । श्रीमद्भागवत् महापुराणमा  पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्त्व परापूर्वकालदेखि नै थियो ।


वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम छैन । आयुर्वेदिक ग्रन्थहरूमा जांै र अंकुरित जौबाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ । विविध  रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन् । चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो  भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ । जमराको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउँछ । यसैगरी बिरामी भएर कमजोर  भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ ख्वाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् । हाम्र्रा गाउँघरमा अझै  पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ ।


अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा  पौष्टिक तत्त्व तुलनात्मक रूपमा बढी पाइन्छ । भारतीय चिकित्सकहरूले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूको सफल उपचार गरिसकेका छन् ।  प्रशस्त औषधीय गुण पाइने हुनाले


पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रूपमा प्रयोग ल्याइएको हुनुपर्छ ।

No comments: