Pages

Thursday, November 18, 2010

सोलारबाट चल्यो कार

 
 
बागलुङ, कार्तिक ११ - यहाँका एक किशोरले कारलाई सौर्य ऊर्जाबाट चलाएर मंगलबार बागलुङ बजार परिक्रमा गरेका छन् । उनले छतमा सोलार प्यानल जडान गरी विभिन्न सामान 'मोडिफाइ' बाट कारलाई फरक आकारमा ढालेका छन् । तर यो आविष्कार भने होइन ।   
अमृत आदर्श आवासीय मावि १० कक्षाका १६ वषर्ीय कुशल केसीले चलाएको कार हेर्न स्थानीयवासीको भीड लागेको थियो ।
तीनजना चढ्न मिल्ने गाडीलाई उनले 'कुशल सोलार कार' नामकरण गरेका छन् । उनले चार महिनाको प्रयासमा कारलाई सौर्य ऊर्जाबाट चल्न सक्ने बनाएका हुन् जसका लागि करिब ६ लाख रुपैयाँ खर्च भएको छ ।
३२ सय वाट क्षमताका तीनवटा मोटर जडित कारमा २० एम्पियरका १९ वटा ब्याट्री जडिएको छ । प्रतिघन्टा ६० किमि क्षमता दाबी गरिए पनि उनले पहिलो चरणमा ३० किमिको गतिमा कार चलाएर देखाएका हुन् । २० वाट क्षमताका ६ वटा सोलार प्यानल जडित कार एकपटक पूरा चार्ज भए २६ घन्टासम्म चल्न सक्ने दाबी उनले गरेका छन् ।
बागलुङको बिनामारे गाविसका भीमबहादुर र रुद्रकुमारीका छोरा कुशलले विद्यालयका पि्रन्सिपल महेशचन्द्र प्रधानलगायत शिक्षक र परिवारको प्रेरणाले कार निर्माण गर्न सफल भएको बताए । 
उनी सहयोगका लागि काठमाडौंमा मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा पुगेका थिए । तर नपाएपछि बुबाआमाले आफ्नै सम्पत्ति लगानी गरेका थिए ।
सानैदेखि विज्ञान र प्रविधिमा चासो राख्ने छोराले कार गुडाउँदा छेत्री दम्पती हर्षले गद्गद् थिए । कारलाई विद्यालयका शिक्षक र अभिभावकले फूलमाला लगाई पूजा गरेका थिए भने कुशललाई अभिनन्दन गरिएको थियो ।
प्रजिअ भरत पौडेल र जिल्ला शिक्षा अधिकारी मुक्तिसिंह ठकुरीले आगामी दिनमा कुशललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

No comments: