Pages

Monday, November 15, 2010

सपिङको नयाँ स्टाइल

जापानमा रहँदा मोबाइल फोनबाटै बस वा प्लेनको टिकट, सपिङ मलमा उपभोग्य वस्तु खरिद, रेस्टुराँमा खाएको बिल पेमेन्टजस्ता सबै सुविधा लिएका दिनेश मानन्धर नेपाल फर्किएपछि अचम्ममा परे । 'यहाँ त मोबाइलफोन म्युजिक र इन्टरनेटका लागि मात्र उपयोग गरिँदो रहेछ ।' अमेरिकाको नासाजस्तै जापानको जाक्साका रिसर्चर डाक्टर दिनेश मानन्धरले नेपाल फर्किएपछि सुनाए- 'नेपालमा मोबाइल फोनको प्रयोग बढे पनि अझै जीवनशैली बन्न केही समय लाग्ने रहेछ ।' दिनेशका अनुसार विकसित मुलुकहरूमा मोबाइल फोनलाई नै डेविट कार्डसरह उपयोग गर्न सकिन्छ । सबै कामका लागि मोबाइल फोन उपयोग गर्ने र मोबाइल फोन सेवामार्फत नै एकमुस्ट भुक्तानी गर्न पाउने सुविधा त्यहाँ छ । 'मैले यहाँको मोबाइल फोनबाट फोन उठाउनेबाहेकको सर्भिस लिएको छैन,' उनले भने-'इन्टरनेट नै एकदमै स्लो भएकाले अन्य कामका लागि मोबाइल उपयोग गर्ने कुरा सोच्न पनि सकिँदैन ।' उनले नेपालमा मोबाइल बैंकिङ सुरु भएकाले अब मोबाइल फोनमार्फत कारोबार बढ्न सक्ने बताए ।

सम्भवतः दसैंअघि भाटभटेनी अनलाइन डटकम सञ्चालन आए कसैले सपिङ गर्न बजार निस्कनु पर्दैन । भाटभटेनी अनलाइन डटकममा गएर आफूलाई चाहिएका सामान अर्डर गरे ती सामान केही समयभित्रै घरमै आइपुग्नेछन् । 'यो सेवाका लागि लगभग सबै तयारी पुरा भैसकेको छ, अब त्यसले औपचारिकता मात्र पर्खिरहेको छ ।' भाटभटेनी अनलाइन डटकमका लागि विद्युतीय माध्यमबाट कारोबार सञ्चालनको सहयोगमा काम गरिरहेको ई-सेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने- 'केही उत्पादनको लिस्ट छुटेकाले थप्ने काम भैरहेको छ, प्राविधिक कार्य पूरा भैसकेपछि भाटभटेनी अनलाइन डटकम सञ्चालनमा आउनेछ ।' सपिङ मलका रूपमा ख्याति कमाएको भाटभटेनीमा नुनदेखि सुनसम्म र जीरादेखि हीरासम्म पाइन्छ । यी सबै सामग्री खरिद गर्न भाटभटेनी पुग्नु नपरोस् भनेर अनलाईनमार्फत सर्भिस दिन लागिएको ई-सेवाका विश्वास ढकालले बताए । ढकालका अनुसार यो सेवाअन्तर्गत १० हजारभन्दा कम पैसा बिलिङ भए उपभोक्ताले सर्भिस चार्जबापत २ सय ५० रुपैयाँ बुझाउनुपर्नेछ भने १० हजारभन्दा माथिको कारोबार भए भाटभटेनीले निःशुल्क डेलिभरी सेवा दिनेछ ।

अहिले कुमारी बैंकले सुरु गरेको मोबाइल बैंकिङले पनि सपिङका लागि नयाँ ट्रेन्ड विकास गरेको छ । कुमारी बैंकमा खाता रहेका उपभोक्ताले नगद बोकेर सपिङ मल पुग्नुपर्दैन । ग्राहकले सपिङ गरेको ठाउँबाटै बैंकलाई एउटा एसएमएस पठाए, बैंकले इ-पेमार्फत पेमेन्ट गरिदिन्छ । भाटभटेनी सपिङ मलमा यसको सफल प्रयोग भैसकेको छ । अहिले लगभग एक दर्जन बैंक मोबाइल बैंकिङमा जाने तयारी गरिरहेका छन् । 'मोबाइलमार्फत नै सबै प्रकारका कारोबार गर्न मिल्छ,' कुमारी बैंकका प्रशासकीय प्रमुख सुरेश कुमार कर्णले भने- 'मोबाइल बैंकिङको पूर्ण तहको सेवा तिहारअघि सुरु हुनेछ ।' कुमारी बैंकको खातामा भएको पैसा अहिले नै मोबाइल फोनमा ट्रान्सफर गर्न सकिन्छ, जुन उपभोक्ताले आफ्नो कामका लागि उपयोग गर्ने तथा चाहेको समयमा विड्र गर्न सक्छन् ।

नेपालमा ई-सेवाले लोकल पेमेन्ट गेटवे ई-पे तयार गरेपछि विद्युतीय माध्यमका आर्थिक कारोबार सहज भएको हो । ई-पे लोकल पेमेन्ट गेट वे हो, ई-पेका लागि उपभोक्ताले ई-सेवाको सदस्य भएर त्यहाँ आफ्नो रकम बैंकमार्फत जम्मा गरे पनि सबै प्रकारका कारोबार सम्भव हुन्छ । ई-सेवाले हाल अनलाइनमार्फत नेपाल टेलिकम, खानेपानी तथा विद्युत् प्राधिकरणको बिल तिर्ने सुविधा पनि उपलब्ध गराएको छ । ई-सेवाअन्तर्गत भीआईपी कल कार्ड, स्कुल कलेजको बिल भुक्तानी, आईएसपी बिल पेमेन्ट, इन्स्युरेन्स पि्रमियम पेमेन्ट, क्रेडिट कार्ड बिल पेमेन्ट, चिकित्सक अनलाइन अप्वाइन्टमेन्ट आदि सुविधा लिन सकिन्छ ।

करिब एक दशकअघि ठमेल डटकम तथा मुन्चा डटकममार्फत अनलाइन पेमेन्ट गेटवेमार्फत विदेशमा भएकाहरूले नेपालमा हुनेहरूलाई उपहार पठाउने चलन सुरु भएको थियो । ई-कमर्सको यो अवधारणा लोकल पे-पाल सिस्टम नहुँदा राम्रोसँग फस्टाउन सकेको थिएन । ई-सेवाले ई-पे लोकल पे-पाल विकास गरेपछि अहिले १ सय २५ वटा ट्रेड तथा सेवा प्रदायकको भुक्तानी अनलाइनमार्फत सहज भएको हो । 'हामीले आठ वर्षअघि विदेशमा भएकाहरूले पेमेन्ट गर्दा काठमाडौंमा बस्नेहरूलाई दसैंमा खसी-बोका पुर्‍याएका थियौं,' ठमेल डटकमका कार्यकारी प्रमुख वालकृष्ण जोशीले भने- 'ई-कमर्सको यो अवधारणा अहिले विस्तार त भएको छ, तर यसको सीमितता छ, हामी अहिले आफ्नो स्रोत संरचनाभन्दा बढीको व्यवसाय गरिरहेका छौं, तर आमउपभोक्ताको हकमा भने यो सेवा अझै पुग्न सकेको छैन ।'

'जुनसुकै ई-कमर्स वेबसाइटमा भएका उपभोग्य सामग्री खरिद गर्न चाहे अब ई-सेवा ई-पेलाई सम्भिmए पुग्छ ।' इसेवाका प्रबन्ध निर्देशक ढकाल भन्छन्- 'ई-पेमार्फत ई-कमर्स व्यवसाय गर्नेले भुक्तानी पाउने भएकाले उनीहरूले उपभोक्तालाई सहज ढंगले सामग्री पुर्‍याउन सक्छन् ।' ढकालका अनुसार लोकल पे पाल नहुँदा उपभोक्ताले ई-कमर्स व्यवसायीको वेबसाइट हेरेर मात्र चित्त बुझाउनुपथ्र्यो ।

ठमेल डटकम, इ बे डटकम, मुन्चा डटकमजस्ता आधा दर्जन ई-कमर्स व्यवसायीले अहिले पनि आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, दसैं, नयाँ वर्ष तथा भ्यालेन्टाइन डेमा आफन्तलाई उपहार पठाउन चाहने विदेशमा रहेका नेपालीहरूका लागि सेवा उपलब्ध गराइरहेका छन् । आमाको मुख हेर्ने दिन हामीले एक दिनमै १ हजार १ सय उपभोक्ताको घरमा उपहार पुर्‍याएका छौं, ठमेल डटकमका जोशी भन्छन्- 'यो ठमेल डटकमको स्रोत-साधनअनुसार ठूलो उपलब्धि हो ।'

ई-सेवाको खातामा पैसा जम्मा हुनेहरूका लागि अर्को खुसीको खबर छ, उनीहरूले केही दिनभित्रै एसएमएसमार्फत सबै किसिमका कारोबार गर्न पाउनेछन् । 'हो, हामी अब एम-सेवा पनि ल्याउँदैछौं,' ई सेवाका ढकालले भने- 'एम सेवा अर्थात् मोबाइल सेवा भच्र्युअल पर्स हो, जसमा भएको पैसा जुनसुकै प्रयोजनमा भुक्तानी गर्न मिल्ने खालको हुने ढकालले बताए । हाल एम सेवाको परीक्षण भैरहेको छ । एमसेवासँगै ११ वटा बैंकसंगको आर्थिक कारोबार पनि सहज हुनेछ, उपभोक्ताले चाहेको खण्डमा बैंकको पैसा एम सेवामा ट्रान्सफर गरे घर बसीबसी सबै सुविधा हासिल गर्न सकिन्छ ।

ठूला चाडपर्व आउँदा बजारमा जुन किसिमको भीड हुन्छ, त्यसलाई नियन्त्रण गर्न अनलाइन ई-कमर्स ट्रेडको व्यवसायले सहयोग पुर्‍याउने व्यवसायीहरू बताउँछन् । तपाईंलाई कुनै मोबाइल मन पर्‍यो भने तुरुन्तै पे-पालमार्फत पेमेन्ट गर्दा जुन स्थानमा हुनुहुन्छ त्यही पुर्‍याउने सुविधा पनि उपलब्ध भैसकेको छ । ठमेल डटकमले इन्टरनेट भएका केही स्थानमा मानिस बेखर्ची भएको अवस्थामा इन्टरनेटमार्फत डेबिट क्रेडिट कार्ड सर्भ गरेर पैसा निकाल्न मिल्ने सुविधा पनि मिलाएको छ । खासगरी महावीर पुनले इन्टरनेट पुर्‍याएका स्थानमा पदयात्रामा निस्किएकाहरू बेखर्ची भएको अवस्थामा पदयात्रीले कार्डमार्फत पैसा लिन सक्छन् ।

विदेशमा रहेकाहरूलाई लक्षित गरेर  दसैंमा खसी बोका उपहार पठाउन खसीबोका डटकम पनि सञ्चालनमा आएको छ । दसैं तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूलाई मध्यनजर गरी खसीबोका र सन्देश पुर्‍याउने उद्देश्यले जानकी टेक्नोलोजीले यो वेबसाइटको विकास गरेको हो । यसअघि मुन्चा र ठमेलले उपलब्ध गराइसकेको यो सुविधामा विशुद्ध खसी-बोकाको मात्र अनलाइन कारोबार गर्नेमा जानकी पहिलो भएको जानकीका प्रमुख कार्यकारी अमित अग्रवाल बताउँछन् । अमेरिका, अस्ट्रेलिया, युरोप, खाडी मुलुकजस्ता क्षेत्रमा रहेका नेपालीहरूले खसीबोका डटकममार्फत आफ्नो घरमा खसी-बोकासमेत उपहार पठाउन सक्छन् ।

अनलाइन ई-कमर्स बेवसाइटहरूले वेबसाइटबाटै दसैं उपहार कार्यक्रम पनि सुरु गरेका छन् । ठमेल, मुन्चा हाउस डटकमका अतिरिक्त, काठमाडौं मार्ट डटकम, नेटफर नेपाल डटकमलगायतका आधा दर्जन इकमर्स वेबसाइटले यो सेवा सञ्चालनमा ल्याएका हुन् । यो खासगरी एनआरएनहरूलाई लक्षित कार्यक्रम हो, व्यवसायीहरूका अनुसार तर ई-सेवामार्फत नेपालमा बस्ने नेपालीहरूले पनि यो सेवा उपयोग गर्न सक्छन् । व्यवसायीहरू बजार मूल्यमै घरघरमा सामग्री पुर्‍याइदिने दाबी गर्छन् । मुन्चा हाउसले सामान अर्डर आएको ७२ घण्टाभित्र सेवा उपलब्ध गराइसक्ने बताएको छ । गत वर्ष अनलाइन सपिङमार्फत ३० करोडको कारोबार भएको बताउने व्यवसायीहरू यो वर्ष त्यसमा उल्लेख्य वृद्धि हुने अनुमान गर्छन् ।

No comments: