Pages

Saturday, November 20, 2010

सुकुम्बासी 'राजा'

चीनगर- ४ मागुरमाडीको खेतमा मध्यदिनमा एक जना मानिस धमाधम धान काटिरहेका छन् । यिनको नाम भाविर किसान हो । र, उनी 'राजा' हुन् ।

राजा यिनको नाम होइन, यिनको पदवी हो । सरकारले लोपोन्मुख जातिमा सूचीकृत गरेको किसान जातिका भाविर राजा हुन् ।

यिनलाई आपmनो उमेर थाहा छैन, खालि यति थाहा छ, 'म २१ साले हुँ' । यिनी कुनै दरबारमा बस्दैनन् । यिनको नारायणहिटी र नागार्जुन दुई धुर जमिनमा बनेको छ । काको जमिनमा दस वर्षअघि बनाएको त्यही कच्चा दरबार पनि कहिले भत्किने हो थाहा छैन । 'हावा चल्ने बेला अन्तै जान्छौ,' राजाले भने । यिनका बाबुबाजे कुनै बेला धुलाबारीको लीलाबस्तीमा जमिनदार थिए । तर, अहिले भाविर सुकुम्बासी राजा भएका छन् । कसरी सकियो होला त जमिन ? 'खोइ, केही ठूलाबडाले हप्काएरै लिए भन्छन्, अलिअलि त जाँडमा पनि साटे होलान्,' उनले अनुमान लगाए ।

'अर्काको खेत नजोते भोकै भइन्छ,' उनले मन नलागी नलागी मुस्काएर भने, 'अहिलेसम्म अर्काकै कामले जीविका चल्दै छ ।' राजधानीमा राजतन्त्र छँदा पनि यिनको हाल यस्तै थियो, अहिले पनि त्यस्तै छ । राजा भाविर र रानी थुप्री किसान दुवैले स्कुलको मुख देखेनन् । तर, यिनका छोराछोरी चाहिँ स्कुल गए । 'जेठी छोरीले ८ कक्षा पढेर छोडी, माहिलीको बिहे गरिदिएँ, कान्छी पढ्दै छ,' उनले भने ।

पुसमा उनी राजा भएको १५ वर्ष पुग्दै छ । यति नै वर्ष उनको विवाह भएको पनि भयो । छिमेककी थुप्रीलाई उनले बिहेअघि देखेका थिएनन् । 'मलाई त बिहे हुँदै छ भन्ने पनि थाहा थिएन, काकाले 'धोती लगा' भनेपछि बल्ल थाहा भयो,' उनले भने । उनका अनुसार किसान समुदायमा बिहेअघि २/३ दिन बेहुलालाई नचाउने चलन छ । धोती लगाएर काकाले उनलाई नाच्न भनेपछि बल्ल भाविरले आपmनो बिहेको खबर पाए ।

'बिहेपछि हप्तौंसम्म हामीबीच बोलचाल भएन,' उनले सुनाए । एक दिन भारतको नक्सलवाडी बजार जान लाग्दा मात्रै पतीपत्नीले एकअर्काको नाम थाहा पाए ।

नेपालकै अति सीमान्तकृत किसान जातिमा 'राजा' राख्ने व्यवस्था परम्परादेखिकै हो । यसअघि उनका काका ढोँडी किसान राजा थिए । उनको अचानक मृत्यु भएपछि भतिजा भाविर राजा भएका हुन् । ढोंडीका जेठा छोराको पहिल्यै मृत्यु भएको र कान्छालाई समाजले राजा नमानेपछि भाविरले यो जिम्मा पएका हुन् । किसान समुदायमा राजाले गाउँको मुखियाका साथै धार्मिक अनुष्ठानमा पनि मुख्य भूमिका निर्वाह गर्छ ।

राजाको निश्चित कार्याविधि हुँदैन । न्यायाधीश, दण्डाधिकारी र मुखिया सबैको काम राजाको हुन्छ । बिहे, जन्म र मृत्युका संस्कारमा राजा अनिवार्य चाहिन्छ । किसान समुदाय विकास प्रतिष्ठानकी कर्मचारी शान्ति किसान भन्छिन्, 'राजा नहुँदा हाम्रा सबै कर्म अपूरो हुन्छ ।' यसका साथै कुटपिट, लेनदेन, सम्बन्धविच्छेद र अन्तर्जातीय बिहेजस्ता मुद्दा छिनोफानो गर्न पनि राजा चाहिन्छ । कुटपिट गर्नेहरूबाट जरिवानाबापत जाँडर दुइटा धोती लिने चलन छ भने अन्तर्जातीय बिहे गर्नेले खसी र पैसा तिर्नुपर्छ ।

किसान समुदायमा राजासँगै मन्त्री र सिपाही पनि तोकिन्छ । खुयु किसान भाविरका मन्त्री र डुम्रा किसान सिपाही नियुक्त छन् । केही समयदेखि मन्त्री खुयु निष्त्रिmय रहेकाले समुदायले अहिले सिपाही डुम्रालाई कायममुकायम मन्त्री तोकेको छ । यसैले रति किसान सिपाही छन् । मुद्दामामिला छिनोफानोमा राजासँगै मन्त्री र सिपाही पनि अनिवार्य उपस्थित हुनुपर्छ ।

२०५८ को जनगणनाअनुसार नेेपालमा किसान समुदायको संख्या २ हजार ८ सय ७६ छ । किसानको जीविकाको मुख्यस्रोत खेती किसानी र माछा मार्नु हो । झापाको मेचीनगर, बाहुनडाँगी, धाइजन, अनारमनी र शान्तिनगर क्षेत्रमा किसानको बसोबास छ । सरकारले केही समय अघिदेखि लोपोन्मुख जातिको रूपमा जन्मनेबित्तिकै भत्ता दिँदै आएको छ । 


श्रोत कांतिपुर पत्रिका

No comments: