Pages

Tuesday, November 16, 2010

घरकी देउता

अन्तिम भर्‍याङ पनि ओर्लिएपछि फर्केर हेरें । आमा माथि त्यही ठाउँमै अड्किरहेकी थिइन् । उनी संकटकालमा सुरक्षाकर्मीले खानतलासी गरेझैं आफ्नो ब्यागका खल्तीहरू खोतलखातल गर्दै थिइन् । म बूढानीलकण्ठ भगवान्को दर्शन गरेर घर र्फकने हतारमा थिएँ, त्यसैले फटाफट हिँडेकी थिएँ । भुराहरूलाई एक घन्टामै र्फकने सर्तमा हामी आमाछोरी बल्लबल्ल उम्केर यता लागेका थियौं । तर, आमाको अलमलले मेरो हतार झन् बढायो । ओर्लिसकेको अन्तिम भर्‍याङ उक्लिएर आमानजिक पुगें । उनी अझै केही खोजिरेकी थिइन् । हल्कासँग झकभक्याएर आफू आएको जनाउ दिएँ । आमा अलिकति झस्किइन्, कल्पनै नगरेको मान्छे झ्वास्स अगिल्तिर आएजस्तो । तर, आफ्नो सुर छोडिनन् । 'के खोजेकी

आमा ?' म सायद झर्किएँछु पनि । आमाले निधारमा गाँठो पारेर मतिर अनिच्छाभावले हेरिन् मात्र ।

'होइन, असर्फी नै खोजेजस्तो के खोजेको भन्या ?' मलाई छोराछोरीको याद आयो । खानाको चिन्ता थिएन, बिहान बनाइदिएर आएकी थिएँ, आफैं खान सकिहाल्थे । तर, हप्ताको एकदिन उनीहरू मलाई मिस गर्न चाहँदैनन्, म पनि उनीहरूलाई । त्यसैले आमासँग झर्किएँछु । आमा र म साथीजस्ता छौं । विवाह भएर गए पनि आमा र मबीचमा सुख-दुःख, घर-व्यवहार सबै कुरा साटासाट हुन्छ । गाउँतिर धेरैजसोका छोराछोरीले आमालाई तिमी नै भन्छन् । सहरतिर पसेपछि मात्र यो सम्बोधन तपाईं हुँदै हजुरसम्मको सभ्यतामा पुग्छ । म पनि आमालाई तिमी सम्बोधन गरेर हुर्किएँ । मैले आमालाई तिमीमै आत्मीय पाउँथें । सायद यो कुरामा हामीलाई सहरले सभ्य र आधुनिक बनाउन सकेन ।

'ए मलाई पाँच रुपैंयाँ दे त, मैले खुद्रा भेटिन ।' मेरो हडबडीको उनलाई वास्ता थिएन । यसले मेरो अधीरता अझ बढायो ।

'तिमीले सुनकै डल्लो कतै खसाएजस्तो मानेकी थिएँ ।' यति भन्नासाथ मलाई आफू आमासँग कुरा गर्दैछु भन्ने बोध भयो, मलाई हल्का पश्चाताप पनि भयो । मैले बोलीमा केही नरमपन ल्याउने प्रयास गर्दै सोधें, 'आमा Û तिमीलाई पाँच रुपैंयाँ किन चाहियो, त्यो पनि यतिबेलै ?'

उनी आफ्नै सुरमा थिइन् । स्वाभाविक रूपमा भनिन्, 'हेर न छोरी यी बूढी चिसो छिँडीमा कक्रक्क परेर माग्न बसेकी छिन् । आफन्त कोही नभएरै होला । केही पैसा दिऊँ भनेर ब्यागमा खोजेको खुद्रै पाइन । दे न बाबु पाँच रुपैंयाँ ।'

मैले आमाको हातमा पाँचको नोट राखिदिएँ । आमाले त्यो बूढीको हातमा राखिदिँदै  बूढानीलकण्ठतिर फकर्ेेर ढोगिन् । मानौं भगवान्लाई भनिरहेकी छन्, 'मैले पुण्य गरेको हेरिराख भगवान् Û पछि देखिन भन्न पाउँदैनौ ।' मैले पनि उनकै देखासिकी गरेर ढोगें तर मलाई यतिखेर भगवान्को भन्दा आफ्ना छोरीछोरीको बढी सुर्ता लागिरहेको थियो ।

हामी आमाछोरी तल झर्‍यौं र एउटा माइक्रो चढ्यौं । एकछिन सुस्ताएपछि आमासँग मैले सोधें, 'आमा ती बूढीलाई पैसा दिन किन यति हत्ते गरेकी ?' 'कस्तो कुरा गर्छे यो, माग्नेलाई किन पैसा दिने भनेर पनि सोध्छन् कसैले ? 'ल ल ठीक छ, अरूले नसोध्लान् तर मलाई भनिदेऊ । जाबो पाँच रुपैंयाँ दिन तिमीले यति हत्ते किन गरेकी ?'

'बूढी भैसकिस् तर पनि तँलाईं पाप-धर्मको हेक्का छैन ।' उनले मतिर हल्का व्यंग्य मिसाएर हेरिन्, मानौं म अबोध काखे बालक हुँ । भनिन्, 'बूढाबूढीलाई दान गर्‍यो भने धर्म हुन्छ ।'

आमा गाउँबाट मलाई भेट्न आएकी थिइन् । आमाहरू छोराछोरीलाई भेट्ने निहुँले भगवान्लाई पनि भेट्न मन्दिर धाउँछन् । आमा यही सिलसिलामा थिइन् र म धेरैजसो उनको 'लोकल गाइड' भएकी थिएँ । त्यसदिन आमाछोरीको वार्ता पनि त्यति लम्बिन पाएन । म घर पुग्ने हतारमा थिएँ, मेरो मन माइक्रोभन्दा तीव्रगतिमा दौडिरहेको थियो । आमा जति भगवान्प्रति आस्थावान् देखिन्छिन् र भगवान्का लागि माग्ने र अरू दुःखीहरूको समस्यालाई जति हार्दिक रूपले बुझ्छिन् । त्यसको विपरीत आफ्नै ८० वर्षे सासूका सम्बन्धमा भने त्यत्तिकै कठोर व्यवहार गर्छिन् । यो मलाई मन परेको थिएन ।

अर्को दिन मैले भनें, 'आमा माग्नेहरूप्रति तिमी किन यति दयालु हुन्छ्यौ ?'

आमाले अलि छक्क परेको भावले मतिर हेरिन् र भनिन्, 'धर्म हुन्छ नि, त्यति पनि बुझ्दिन यो लाटी त ।'

'ए-ए धर्मको कुरा पो Û', अब म आमाको नाडी छाम्न थालें, सोधें, 'तिमीले परत्र सुधार्न यसो गरेकी' 'हो नि, तिमीहरूलाई यस्ता कुरा ख्यालठट्टा लाग्छन् ।' मलाई लाग्यो, अब आमा पूरै खुल्ने जमर्कोमा छिन्, खिया लागेको ताल्चामा पेट्रोल हालिदियो भने कहिलेकाहीँ खुल्छ, हो अहिले आमाको मनको ताल्चा मेरा बचनको पेट्रोलले विस्तारै खुल्दै गएको अनुभव गरें ।

मेरो हातबाट सुन्तलाको केस्रा लिँदै भनिन्, 'यहाँ धर्म गर्‍यो भने त्यसको फल माथि  पाइन्छ ।'

अब मैले आमाको मनको खिया पूरै पुछिसकेको अनुभव गरें, आमाका अलिअलि फुल्न थालेका केशहरू विस्तारै उखेलिदिएको बहाना गर्दै भनें, 'उसो भए आमा तिम्रो घरमै भएकी आफ्नै सासूलाई चाहिँ तिमी किन हेला गछ्र्यौ ? खान पनि राम्रो दिन्नौ, बचन लगाइरहन्छ्यौ, तिनलाई राम्रो गर्दा नर्कको वास हुन्छ, हो तिमीलाई ?'

'तेरी हजुरआमाको कुरा गरेकी तैंले ? त्यो बूढीलाई राम्रो गर्‍यो भने पाप लाग्छ । म सुत्केरी हुँदा त्यो बूढीले मलाई खसीको टाउकाको मासु सालको पातमा हालेर दिएकी मैले कहाँ बिर्सेकी छु र, तँ १५ दिनकी मात्र थिइस्, न्वारन गरेको भर्खर ४ दिन भएको थियो । मलाई बूढीले निकै टाढा पानी लिन पठाइन्, गाग्रो बोकाएर । मलाई कस्तो भयो होला ? मेरो कुरा कसैले बुझ्दैनन् । यति हुँदाहुँदै पनि मैले तिनलाई आफ्नै घरमा सहारा दिएकी छु, यो नै ठूलो कुरो हो ।' आमा अहिले निकै कड्किएकी थिइन् । मैले उनको रौद्ररूप प्रकट हुनुअघि नै मत्थर पार्ने विचारले भनंे, 'आमा तिमीलाई सोधेको पो त, बूढीको सेवा गर त मैले भनेकी छैन । तिमी धर्मात्मा मान्छे, के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ, यसमा तिमीलाई जति जानकारी कसलाई छ र ?' आमा मेरो कुराले सन्तुलन गुम्न लागेको गाडी घुमाउरो बाटोमा आएजस्तो भइन् । तिमी 'रिसाउँदिनौ भने एउटा कुरा सोधौं है', मैले नजानिँदो गरी चाउरिन थालेको उनको अनुहारको भाव पढ्ने प्रयास गर्दै भनें ।

'सोध् न सोध्, तँसँग किन रिसाउनु ?'

'मेरी हजुरआमाले त तिमीलाई दुःख दिइछन् ल ठीकै छ । तर, ती माग्ने बूढीले तिमीलाई सुत्केरी हुँदा बटुकाभरि खसीको ह्याकुला पस्किएकी थिइन् ? मैले माग्नेलाई नदिनु भनेको होइन, देऊ तर घरकै बूढीलाई हेला गरेर माग्नेलाई दिएर धर्म कमाउँछु भन्नुको के अर्थ हुन्छ ?

वातावरण स्तब्ध भयो । मैले आमाको र आमाले मेरो अनुहार हेराहेर गर्‍यौं । लामो निस्तब्धतालाई आमाले नै चिरिन्, 'तेरी हजुरआमाको त सम्पत्ति छ नि, त्यो बूढीजस्तै हो र ?' मैले भनें, 'तर आमा हातगोडा बसेको अशक्त र जीर्ण मान्छेलाई जति नै सम्पत्ति भए पनि के हुन्छ र ? उनले मर्दा त्यो सम्पत्ति बोकेर जाने होइनन् । यो उमेरमा त सम्पत्ति होइन, एक गाँस मीठो खाना र न्यानो व्यवहार पो चाहिन्छ, होइन र ?' आमा यसपटक केही बोलिनन्, सायद मेरो कुराले उनी भित्रको संवेदनामा कतै छोयो वा चिमोट्यो ।

मैले थपें, 'आमा-बुवाको श्राद्धमा गाउँभरिका मान्छेलाई ख्वाउनुभन्दा ती बूढीआमैका लागि तिमीले अलिकति सोचिदियौ भने ठूलो पुण्य हुन्छ । तिमीले शास्त्रका कुरा धेरै सुनेकी छौ, रामायण-महाभारत पनि बुझेकी छौ । तिनमा पनि त आमा समानकी सासूलाई अपमान गर्दा राम्रो हुन्छ त भनेको छैन होला । क्षमा हि परमो धर्म भन्ने त तिमीले नै मलाई रटाएकी हौ' आमा केही बोलिनन्, टोलाइरहिन् मात्र । भोलि बिहानै आमालाई बसमा पुर्‍याउन कलंकी जानु थियो, त्यसैले पनि यो वार्ता अघि बढ्न सकेन । तर, पनि ओछ्यानमा ढल्किनुअघि आमाको अनुहारमा देखिएका भावहरूले उनी कुनै गम्भीर मन्थनमा छिन् भन्ने लाग्थ्यो । आमालाई ओछ्यानमै छोडेर म पनि आफ्नो कोठामा लागें ।

बिहान उठेर सबैभन्दा पहिले मेरा आँखा घडीको सुईमा परे । म आत्तिएँ, सात बज्नै लागेछ । जति ढिला गर्‍यो, त्यति बसमा भीड हुन्छ । सात बजे त कलंकी नै पुग्ने सोचेकी थिएँ । म आत्तिँदै आमालाई उठाएर बाथरुममा पसेँ । मैले सोचेँ म बाथरुमबाट निस्किसक्दा आमा पनि तयार हुन्छिन् । तर, त्यसो भएन । म आमाको कोठामा पस्दा उनी ओछ्यानमै पल्टिरहेकी थिइन् । 'ए आमा तिमीले यो के गरेको ? यति ढिला गर्‍यो भने राम्रो बस पाइँदैन । उठ न, छिटो  बाथरुम गइहाल ।' मैले आमालाई भनें-तर आमा उठिनन् । भनिन्, 'तेरा कुराले रातभरि सुत्न सकिन । म आज घर फर्किन्न छोरी ।' आमाको कुराले म फेरि छक्क परें । एकाबिहानै के भयो बूढीलाई ? उनको अनुहारमा हेरें, कुनै सन्ताप, रिस वा तनाव थिएन । 'के भनें त्यस्तो बिझाउने र मैले  ?' मैले आश्चर्य प्रकट गरें ।

उनले भनिन्, 'बिझाउने होइन, तैंले सम्झाउने कुरा गरिस् । म आज पशुपति गएर मात्र घर र्फकन्छु ।' यसपटक आमा अलिक हतारमा थिइन् । मैले अस्ति मात्र सोधेकी थिएँ, पशुपति जाने होइन, भनेर । तर उनले चासो देखाइनन् । भनिन्, 'होस् यसपटक नजिकका तीर्थ हेला हुने भए ।' बूढानीलकण्ठ र दक्षिणकाली टाढा भए पनि उनले दर्शन गरेकी थिइन्, पशुपति अर्को पालिलाई थाती राखेकी थिइन् । आमाको यो निर्णयले म फेरि आश्चर्यमा पर्नँ स्वाभाविक थियो । भनें, 'के भनेकी आमा तिमीले, हिजो त यस्तो कुरा भएको थिएन । तिमी त बित्यो, बित्यो, फर्किहाल्छु भन्थ्यौ ।'

आमा स्वाभाविक स्थितिमा थिइन् । आँखा मिच्दै नम्र भावमा भनिन्, 'मैले रातभरि तेरो कुरा सोचेँ र पशुपतिनाथ जाने टुङ्गोमा पुगें ।' उनले मेरो हात समाइन् र मलाई फकाउने भावमा भनिन्, 'म अब सासूका लागि पशुपतिको फूल-पर्सादी लिएर मात्र र्फकन्छु ।' मैले आमाको अनुहारमा हेरें, गहभरि आँसु टलपलाइरहेको थियो, पुछिदिएँ । उनी भनिरहेकी थिइन्, 'हामी सासू-बुहारीको साइनो पुरानै भए पनि व्यवहार भने आजदेखि आमा-छोरीको हुनेछ । आजदेखि म उनलाई छोरी भएर सेवा गर्नेछु ।'

मेरो मनले सोचेको कुरा भैरहेको थियो तर यसलाई बाहिर आउन नदिई अलिकति ठट्यौलो पारामा सोधें, 'तिमीमा रातारात यस्तो रूपान्तरण कसरी भयो ?' तर आज उनी ठट्टा गर्ने मुडमा थिइनन् । भनिन्, तैँले हिजो भनिस् नि, 'घरको पाको मान्छेलाई सास्ती दिएर पराइलाई दान गर्दैमा धर्म हुँदैन ।' मैले यस विषयमा रातभरि सोचें । हो छोरी म रातभरि लाटकोसेरो जस्तै ननिदाई छटपटाइरहें । म त घरमै भएका देउतालाई अनादर गरेर ढुंगाको मूर्तिलाई पो पुज्दै रहेछु तर, अब मेरा आँखा खुले ।' उनले मेरा पाखुरामा ट्याप्प समाएर आफ्नै छेउमा तानिन् र बसाइन् । आमाले भनिन्, 'ल अहिल्यै मलाई पशुपति पुर्‍याएर ल्या, म भोलि घरको देउतालाई चढाउने फूल-पर्सादी लिएर आउँछु ।' मेरो आँखामा अनायास खहरे रसायो, वाक्य फुटेन । मैले आमालाई गम्लङ्ग अँगालो हालें । उनकै बाहुलामा थाहा नपाउने गरी आफ्ना रसाएका आँखा पुछें अनि आमालाई डोर्‍याउँदै पशुपतिको यात्रामा निस्किएँ ।
श्रोत  :नारी पत्रिका

No comments: