Pages

Tuesday, December 6, 2011

आकाश- सर्वाधिक सस्तो ल्यापटप

भारतमा विश्वकै सर्वाधिक सस्तो भनी दाबी गरिएको ल्यापटप प्रयोगमा आएको छ। यसको नाम आकाश राखिएको छ। विद्यार्थीहरूलाई लक्षित  गरी निर्माण गरिएको उक्त ल्यापटपको मूल्य २ हजार २ सय ७६ भारतीय रुपैयाँ छ। त्यसमध्ये सरकारले ५० प्रतिशत अनुदान उपलब्ध  गराएर विद्यार्थीलाई १ हजार १ सय भारतीय रुपैयाँमा उक्त ल्यापटप बिक्री गर्न थालिएको छ। पहिलो चरणमा परीक्षणका लागि ५ सय  ल्यापटप वितरण गरिएको छ।

बेलायतस्थित कम्पनी डाटाविन्ड र भारतकै राजस्थानको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा यसको निर्माण गरेका हुन्।  डाटाविन्डको उत्पादन केन्द्र भारतको हैदरावादमा छ। भारतमा निर्माण गरिएको भए पनि यसको २९ प्रतिशत पार्टपुर्जा दक्षिण कोरियाबाट, २४  प्रतिशत चीनबाट, १६ प्रतिशत अमेरिका र ५ प्रतिशत पार्टपुर्जा विभिन्न देशबाट लिइएका छन्। यसमा प्रयोग भएका १६ प्रतिशत पार्टपुर्जा  भने भारतीय छन्।

आकाशमा ७ इन्चको टच स्क्रिन सुविधा छ। यसमा हार्ड डिस्क नभए पनि ३२ जिबीको हार्ड डिस्कलाई बाहिरी रूपमा जोड्न सकिन्छ। यसमा  २ युएसबी पोर्ट छ। यो  ल्यापटपमा ३ घण्टाको ब्याट्री ब्याकअप क्षमता छ। यसलाई सौर्य ऊर्जाको सहयोगले पनि चलाउन सकिन्छ। त्यसैगरी  यसमा वर्ड, एक्सेल, पावर प्वाइन्ट, पिडिएफ, ओपन अफिस, वेब ब्राउजर तथा जाभा स्क्रिप्ट पनि संलग्न छ। आकाशमा २ सय ५६ मेगाबिट्सको र्‍याम छ। त्यसैगरी एन्ड्रोइड २ दशमलव २ अपरेटिङ सिस्टमसहितको एआरएम ११ प्रोसेसर छ। यसमा जिप, अनजिप तथा भिडियो  स्ट्रिमिङको सुविधा पनि छ। इन्टरनेट सुविधासमेत उपलब्ध भएको आकाशमा मिडिया प्लेयर, भिडियो कन्फ्रेन्सिङ तथा मल्टिमिडिया कन्टेन्टको  सुविधा समेत पाइन्छ।

भारतको मानव संसाधन विकास मन्त्रालयले सन् २००९ मा यस प्रकारको परियोजनाको घोषणा गरेको थियो। पहिले करिब १० डलरमा यस  प्रकारको ल्यापटप निर्माण गर्ने योजना थियो, तर लागत बढ्दै जाँदा यसको मूल्य ४९ डलर अर्थात् २ हजार २ सय ७६ भारतीय रुपैयाँ पुगेको  हो। हाल सरकारले यस्ता १ लाख ल्यापटप वितरण गर्ने योजना बनाएको छ। अबको केही वर्षभित्रै करिब १ करोड ल्यापटप वितरण गर्ने  सरकारको योजना छ। यस्ता ल्यापटपले देशका ग्रामीण एवं सहरी क्षेत्रका विद्यार्थी बीचको ज्ञानको खाडलमा कमी ल्याउने विश्वास गरिएको  छ, तर कमजोर क्षमताका कारण आकाशले  विद्यार्थीको अध्ययनमा सघाउन पुर्‍याउने कुरामा भने धेरैले शंका व्यक्त गरेका छन्।

No comments: