Pages

Tuesday, December 6, 2011

ओझेलमा परेको यो पाटो

काभ्रेको होक्से गाविसका एक पुरुष हालै रोजगारीका लागि इराक गए। उनकी श्रीमतीकोे पाँचखालको जीरो किलोमा पसल थियो। श्रीमान् वैदेशिक रोजगारीमा गएको थाहा पाएपछि  केही आवारा केटाले उनलाई मानसिक तनाव दिन थाले। ५० हजार रुपैयाँ नदिए अन्य केटासँग लागेको भनेर सामाजिक रूपमा बेइज्जत गरिदिन्छौँ, इज्जत लुटिदिन्छौँ भन्दै राति  पसलमा आएर धम्क्याउन थालेपछि उनी अहिले पसलै बेचेर माइतीमा बसिरहेकी छिन्।

काभ्रे साँगा गाविसका एक महिलाको अवस्था पनि उस्तै छ। उनका श्रीमान् अमेरिकामा छन्। एकपटक गाउँकै कसैसँग बोलेको आरोपमा उनकै परिवारले त्यही पुरुषसँग सम्बन्ध भएको  आरोप लगायो। यस विषयमा प्रहरीमा उजुरी नै पर्‍यो, जसले आरोप लगाएकी थिइन् उनले जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेलमा आफूले लगाएको आरोपको पुष्टि गर्न  सकिनन्, तर परिवारले आरोप लगाउन भने छोडेन। अहिले उनी बल्लबल्ल प्रहरीको रोहवरमा भएको छलफलपछि घरमा बसेकी त छिन्, तर व्यवहार राम्रो पाउन सकेकी छैनन्।

यस्तै, बैतडीकी एक महिलाका श्रीमान् रोजगारको सिलसिलामा विदेशमा रहँदा ती महिलालाई ससुरा र देवरले पटक-पटक बलात्कार गरे। आफ्ना श्रीमान् र माइतीलाई बलात्कार  गरेको यथार्थ बताउने जानकारी दिएपछि ससुरा र देवर मिलेर उनको हत्या गरे र भैंसीगोठमुनि पुरे। पछि माइतीको उजुरीका आधारमा ससुरा र देवर जेल परे। अहिले ससुरा जेलबाट  देवरलाई मात्र दोष देखाउँदै छुटेका छन् भन्ने देवर अझै जेलमै छन्।

यी घटना केही प्रतिनिधि उदाहरण मात्र हुन्। श्रीमान् वैदेशिक रोजगारीमा गएका केही महिलामा आएको विचलनको जोडतोडका साथ प्रचार भए पनि वैदेशिक रोजगारीका लागि  श्रीमान् विदेश जाँदा तिनका श्रीमतीले आफन्त र समाजबाट भोग्नुपरेका मानसिक तनावका घटनाहरू भने बाहिर आउन सकेका छैनन्। यस्ता घटना कमै मात्र सार्वजनिक हुने गरेका  छन्। श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाले चौतर्फी मानसिक तनाव झेल्नुपर्ने बाध्यता छ। घरपरिवारदेखि समाजसम्मले नकारात्मक रूपमा हेर्ने गरेका छन्। विशेषगरी यस्ता  महिलाले आफन्तजनबाट घर निकालादेखि बलात्कारसम्मको पीडा खप्नुपरेका उदाहरण छन्।

पछिल्लो समयमा श्रीमान् वैदेशिक रोजगारीमा भएका कारण महिला समस्यामा परेका घटना प्रहरीसम्म पनि पुग्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेकी महिला सेल प्रमुख  कल्पना सापकोटाका अनुसार, गत वर्ष प्रहरीमा दर्ता भएका ७२ घरेलु हिंसाका घटनामध्ये ३० वटा वैदेशिक रोजगारीसँग सम्बन्धित छन्। हालसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेमा  आएका ३३ मुद्दामध्ये ५० प्रतिशतजति त वैदेशिक रोजगारीका कारण आएका समस्या छन्। 'कतिपय मुद्दा महिलाका कारण उब्जिएका समस्यामा केन्दि्रत छन् भने कतिचाहिँ श्रीमान्  विदेशिएपछि घर-परिवारबाट हुने अपहेलना, गाउँका र घरकै पुरुषले गर्ने दुव्र्यवहारलगायतका छन्,' सापकोटा भन्छिन्।

No comments: