Pages

Thursday, July 28, 2011

तन्नेरीहरु बुलेटमा सरर

 
स्टाइलिस्ट पहिरनसँगै महँगो बाइक। सौखिन तन्नेरीहरू आफ्नो बाइक अरूको भन्दा नयाँ र महँगो होस् भन्ने चाहन्छन्। फेसनेबल तन्नेरी हुन् वा सौखिन लाहुरेहरू, सबै महँगो र स्टाइलिस्ट बाइक रोज्न थालेका छन्। हिजोआज सहरमा बेग्लै आवाज आउने बाइक कुदेको देखिन्छ। बाइकको आवाजले सडकमा हिँडिरहेका हरेकको नजर एकपटक त्यतै पुग्छ। पोखरासँगै धरान, काठमाडौं, विराटनगर आदि सहरमा पनि यस्ता बाइकको क्रेज बढ्दो छ।

अहिले पोखरामा बुलेट बाइकको क्रेज देखिन्छ। गलफ्रेन्डलाई स्टाइलिस्ट बाइकको पछाडि राखेर हिँड्न पाउँदा तन्नेरीहरू गर्व अनुभव गर्छन्। पामेमा भेटिएका प्लस टुका एक तन्नेरी भन्दै थिए, 'उनको पनि फेबरेट अनि मेरा लागि पनि आनन्द।'

केही वर्षअघि लेकसाइडमा आउने विदेशी पर्यटकले मात्र चलाउने बुलेट बाइक देखेर सबै दंग पर्थे। विदेशी पर्यटकहरूले मात्र चढने बाइक अहिले हरेक नेपालीको पहुँचमा छ। केही वर्षअघिसम्म उच्छ्खल युवाहरूले मात्र चढ्ने वाइक भनेर धेरैले टीकाटिप्पणी गदै आएको बुलेट अहिले विभिन्न अफिसमा कार्यरत युवाहरूले पनि चढ्ने गरेका छन्।

केही वर्ष अघिसम्म पल्सर र भीआरले सौखिन तन्नेरीहरूको मन ताने पनि पछिल्लो समयमा बुलेटप्रति बढी आकर्षण देखिन्छ। लाहुरे सहर पोखरामा प्रवेशिका उत्तीर्ण तन्नेरीहरू अभिभावकलाई बुलेट बाइक किन्न अनुरोध गरिहाल्छन्। ध्वनि प्रदूषण गरेको भन्दै पछिल्लो पटक बुलेट बाइकको आवाज सानो पारिएको छ।

३ सय ५० र ५ सय सिसिमा उपलब्ध यो बाइक अहिले ३ लाख २५ हजार देखि ५ लाख रूपैयाँसम्म बजारमा पाइन्छ। जतिसुकै मूल्य भए पनि सौखिन तन्नेरीहरू बुलेट बाइक चढन हिचकिचाउँदैनन्। पोखरामा बुलेट बाइक भित्रँदा स्थानीय विक्रेतालाई बिक्री गर्न निकै हम्मे-हम्मे पर्‍यो। 'सुरुमा त एउटा बाइक बिक्री गर्न पनि गारो भयो, पृथ्वीचोकस्थित बुलेट शोरुमका सञ्चालक प्रेम गुरुङले भने, 'अहिले त हरेक तन्नेरी बुलेट बाइक नै खोज्दै आउँछन्।'

पोखरामा अहिले ५ सयभन्दा बढी बुलेट बाइक छन्। अहिले पनि त्यत्तिकै माग छ। गुरुङले वाषिर्क १ सय ५० भन्दा बढी बुलेट बाइक विक्री गदै आएका छन्। कुनै बेला बुलेट बाइक चलाउन हिचकिचाउनेहरू अहिले त्यही चढेर हिँड्ने गरेका छन्।

रामबजारका तन्नेरी विजय पुनले चार वर्षदेखि बुलेट बाइक हुइँक्याउँदै आएका छन्। स्टाइलिस्ट पुन बुलेट बाइक कुदाएर हिँड्दाको आनन्द बेग्लै भएको बताउँछन्। 'बाइक बलियो त छ नै, स्टाइलिस्ट पनि छ, ' पुनले भने, 'आरामको त कुरै नगरौ।' उनले अहिले आफूजस्ता तन्नेरीहरूका लागि बुलेट वाइक रोजाइ भएको बताए।

बेलायती सेनामा ब्रिटिस बुलेट बाइक कुदाएर आएकाहरू स्वदेशमा फर्किएपछि त्यस्तै बाइकको खोजी गर्छन्। एक निजी बैंकमा कार्यरत तन्नेरीले पनि भर्खर मात्र बुलेट वाइक किनेका छन्। राम्रो दौडने र माइलेज राम्रो छ नै, उनले भने, 'स्टाइलिस्ट पनि त छ।'



रेसिङ र स्टन्टमा युवाहरू


नेपाली युवाहरूमा मोटरसाइकल मोह कति छ भन्ने जान्न, चोभार पुगे हुन्छ। त्यहाँ बिदाको दिनमा युवाहरू मोटरसाइकल रेसिङ र स्टन्टका लागि पुगेका हुन्छन्। स्टन्टका लागि चोभार पुग्ने भएकाले सहरमा जथाभावी सवारी कुदाउनेहरू अहिले क्रमश कम हुँदै गएका छन्, नेपाली स्टन्ट म्यान छिरिङ फुन्सोक ठकुरी भन्छन्- 'ग्रुप नेमिसिससँगको सहकार्यमा यामाहा कम्पनीले राइड टेक च्यालेन्ज सुरु गरेपछि आफ्नो क्षेत्रभित्रै कुनै खाली स्थानमा विभिन्न ग्रुपहरूले अभ्यास सुरु गरेका छन्।' टिम नेमिसिस अहिले स्टन्ट गर्न चोभार नगएको उनले बताए। चोभारमा स्टन्ट गर्नु जोखिम पूर्ण पनि थियो। अहिले युवाहरूले अन्डरग्राउन्ड रहेर नै स्टन्ट प्राक्टिस गरिरहेका छन्। अबको केही समय भित्र थुप्रै नेपाली युवा खतरनाक स्टन्टम्यानका रुपमा देखा पर्ने छिरिङले बताए। नेपालमा १२५ सीसीदेखि १५० सीसीसम्मको बाइकमा स्टन्ट गरिएपनि हेभी बाइकमा स्टन्ट गर्ने कोही छैनन्, उपयुक्त ज्ञानको अभाव यसको कारण हो। 

केही समयअघि काठमाडौंमा सम्पन्न 'यामाहा राइड टेक च्यालेन्ज' मा पनि थुप्रै नेपाली युवाले आफ्नो मोटरसाइकल कला प्रस्तुत गरेका थिए। दोस्रो संस्करणको उक्त कार्यक्रममा राजधानीसहित मुलुकका  विभिन्न स्थानका युवा बाइक रेसरको सहभागिता थियो। हजारौं दर्शक सहभागी भएको रामशाहपथ बग्गीखानास्थित नेसनल ट्रेडिङ लिमिटेडको ट्रयाकमा ९३ जना युवाले स्पीड, ब्यालेन्स तथा सेफराइडिङको कला  देखाउँदै प्रतिस्पर्धा गरेका थिए। यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक मोरङ अटो वक्र्सको प्रायोजन तथा स्टन्ट प्रदर्शन गर्ने समूह टिम नेमिसिसको आयोजनामा राइड टेक च्यालेन्ज-२ सम्पन्न भएको हो। जसमा भारतका प्रोफेसनल बाइक राइडर फरहाद खान कार्यक्रमका प्रमुख आकर्षण थिए। हेभी बाइक चलाउने अन्तर्राष्ट्रिय नियम पनि छुट्टै छ। जहाँ १९ देखि २१ वर्षसम्मकाले १२५ सीसी बाइक मात्र चलाउन पाउँछन् भने २१ वर्ष नाघेपछि इच्छाअनुसार क्रमशः हेभी बाइक चलाउन सक्छन्।



स्टाइलिस्ट बाइकको ट्रेन्ड


स्पोर्ट्स बाइकको ट्रेन्ड आजभन्दा ४० वर्षअघि नै सुरु भएको देखिन्छ। जतिबेला नेपालमा मोटरसाइकल बजार विस्तार पनि भएको थिएन। विभिन्न राष्ट्रमा लाहुरेका रुपमा पुगेका नेपालीहरूले नेपाल र्फकने क्रममा स्टाइलिस्ट स्पोर्ट्स बाइक भित्र्याएका थिए। भन्सार छुटमै ल्याउन पाउने सुविधा हुनुले पनि सिंगापुर, जापान, थाइल्यान्ड, बेलायत तथा हङकङमा लाहुरे एवं व्यापारीका रूपमा पुगेर फर्किएकाहरू नेपाल फर्कंदा देखाउन नै भए पनि आकर्षक बाइक लिएर आउँथे। स्पोर्टिज बाइकको इतिहास खोज्ने हो भने खासगरी मनाङे र मुस्ताङेहरूका थुप्रै किस्सा भेटिन्छन्। अहिले पनि मनाङेहरूको एउटा ठूलो समूह छ, जो स्टाइलिस्ट बाइकमा मोह राख्छ। हेलिकप्टरमा लगेर मनाङ र मुस्ताङमा स्टाइलिस्ट बाइक कुदाउने एउटा ट्रेन्ड नै छ। पुरानो घर मुस्ताङ बताउने छिरिङ फुन्सोक ठकुरी सम्झन्छन्- 'बुबा र काकाहरूले हेलिकप्टरमा मुस्ताङ पुर्‍याएको स्पोर्टिज बाइक चलाएदेखि नै ममा पनि यस्तो बाइकप्रति लगाव बढेको हो।' स्टाइलिस्ट बाइक चलाउनेहरू पैसावाला मानिन्छन्, स्टाइलिस्ट हेभीका दुईपांग्रे बाइकको मूल्य ४ पाङ्ग्रे गाडीको भन्दा महँगो भए पनि बाइक चलाउनुमै उनीहरू आफ्नो इज्जत मान्छन्। सुरु-सुरुमा हेभी बाइक डन (ग्यांगस्टर) तथा उसका साथीहरूले चलाउने बाइक मानिन्थ्यो। अहिले आर्थिक पृष्ठभूमि बलियो भएका जो सुकैले स्टाइलिष्ट स्पोर्ट्स बाइक किनिरहेका हुन्छन्। 'अहिले स्टाइलिस्ट बाइक चलाउनेहरूको समूहलाई ग्याङ होइन, ग्रुप भन्न थालिएको छ,' छिरिङ भन्छन्- 'ग्याङ भन्नेबित्तिकै गुन्डागर्दी जस्तो बुझिन्छ, त्यसैले अहिले बाइकर्स ग्रुप भनिन्छ। घरमा राम्रो ब्रान्डको ४ पांग्रे सवारी भएपनि स्पोर्टिज बाइक हुनेहरू थुप्रै छन्। स्पोर्ट्स बाइककै सेरिज, जुन विदेशबाट आयात गरिन्छ, का उपभोक्ता मात्रै अनुमानित ५ सयभन्दा बढी छन्। यो संख्या दिनहुँ बढ्दो छ।



एम जेनरेसन


अहिलेको पुस्ता एम जेनरेसन हो। मोर्डन सोसाइटीलाई मनिटरिङ गर्दा एमटिभी पुस्ताको विभिन्न लगाव देखिन्छ। मोटरसाइकल उनीहरूको प्रिय साधन हो। एमटिभी जेनरेसनले नै मिनिस्कर्टको आकर्षण बढाएको हो, हुन त सोसाइटीकै युवाहरू मिनिस्कर्ट, माइक्रोस्कर्ट हुँदै डन्ट बेन्ड  ओभर माइक्रोस्कर्टसम्म आइपुगेका छन्। युवक तथा युवती दुवैका लागि मिनिस्कर्ट प्रिय छ। एम जेनरेसन स्टाइलिष्ट मोटरबाइक किन्न मनि म्यानेज गर्न पनि उत्तिकै खप्पिस हुन्छ। कम्युनिकेसनका लागि मोबाइल खल्तीमै छ। भोक लाग्यो मोटरसाइकलमा हुत्तिएर क्याफेको मःम हान्यो। म्युजिक नभए त जीवन नै छैन, उनीहरू भन्छन्, एमटिभी हेर्ने अनि मोबाइलमा सित्तैमा पाएको म्युजिकचाहिँ किन नसुन्ने ? ए तिम्रोमा कति जीबिको मेमोरी कार्ड छ नि, म्युजिक डाउनलोड गर्नुअगावै मेमोरीको ख्याल पनि गर्नैपर्‍यो। मेमोरी सफिसेन्ट नभए त बिजोग भैहाल्छ नि। मोटरबाइकमा मिनिस्कर्टसँगै युवतीले च्याप्प समाएर बस्ने संस्कृति मौलाएको छ। जसलाई साहित्यकार डा. ध्रुवचन्द्र गौतमले च्याप्प संस्कृति नामाकरण गरेका छन्। रियल मोटरसाइकलमा मोह बढ्नुको कारण बाल्यकालदेखि नै मनिटरमा थि्रडी मोटरबाइक हुइँक्याउने लत बसेकाले पनि हो। अहिले केटाकेटीहरू भच्र्युअल थ्रीडी मोटरबाइक रेसिङ भनेपछि हुरुक्कै हुन्छन्, वास्तवमा हेभी सीसी बाइक चलाउने अधिकांश युवा भच्र्युअल रेसिङ पनि उत्तिकै रोमान्चक हुने बताउँछन्। एम जेनरेसनले फेसबुक टि्वटरमा पनि आफ्नो मोटरबाइक प्रेम दर्साएको छ, विभिन्न ग्रुप बनाएर। निष्कर्ष के हो, भने एम जेनरेसन महँगो सौख पाल्नेहरूको समूह हो, जो इच्छाअनुसारको सुविधा उपयोग गर्न पछि पर्दैन।



स्टाइलिस्ट बाइक


स्याकार कम्पनीले होन्डाका तीनवटा स्पोर्ट्स सेरिजका बाइक बजारमा ल्याएको छ। सिबी ६०० एफ हर्नेट सन् २०११ को पछिल्लो संस्करणको मोडल बाइक हो। जसको मूल्य १७ लाख रुपैयाँजति छ। यस्तै होन्डा सीबी १००० आरको मूल्य २२ लाखजति पर्छ। स्याकारले युवा पुस्तालाई नै लक्षित गरेर सिबिआर ६ सय आरआर बाइक पनि नेपाली बजारमा उतारेको छ। जसको मूल्य २० लाख रुपैयाँजति छ। स्याकारले नेपालमा महँगा बाइकका उपभोक्ता भएको थाहा पाएर नै स्पोर्ट्स तथा स्टाइलिस्ट सेरिजका बाइक भित्र्याएको बताएको छ। दुई साताअघिदेखि बिक्री प्रारम्भ गरेको भए पनि छोटो समयमै दुई दर्जन बाइक बिक्री भएको स्याकार सम्बद्ध सूत्रले साप्ताहिकलाई बतायो। स्याकारले चाँडै नै ७५० सीसीको होन्डा क्रुजर पनि नेपाल भित्र्याउने तयारी गरेको छ।

No comments: