Pages

Wednesday, July 20, 2011

बढे नागराज

 
                  एकताका भनिन्थ्यो- काठमाडौंमा सर्प पाइँदैनन्, तर यो भनाइ किंवदन्ती सावित हुने दिन आएजस्तो छ। काठमाडौंमा सर्पले टोकेका घटनाहरूमा आएको वृद्धिले पनि यो कुरालाई पुष्टि गर्छ। कमसेकम टेकुस्थित ट्रोपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकले त यसै भन्छ। भनिन्छ, अहिले उक्त अस्पतालमा दैनिक पाँच जनासम्म सर्पदंशका बिरामी पुग्ने गरेका छन्। गत जेठ महिनामा मात्र ३४ जना सर्पदंशका बिरामी टेकु अस्पताल पुगेका थिए भने गत वर्ष त्यही महिनामा १४ जना मात्र सर्पदंशका बिरामी अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार आर्थिक वर्ष २०६३/०६४ मा १ सय ७१ तथा ०६५/०६६ मा १ सय ७८ जना मानिस सर्पले टोकेर अस्पताल पुगेका थिए।

यति धेरै मानिसलाई सर्पले टोके पनि कसैको मृत्यु भने नभएको बताइन्छ। यसको एक मात्र कारण हालसम्म काठमाडौंमा पाइएका सर्प विषालु नहुनु नै हो। उपत्यकामा बढ्दो गर्मी एवं जनघनत्वका कारण काठमाडौंमा सर्पको संख्यामा उल्लेख्य वृद्धि भएको बताइन्छ। बढ्दो गर्मीका कारण जमिनमुनि लुकेर बसेका सर्प जमिनमा आएकाले सर्पदंशका घटनामा वृद्धि भएको हो। उपत्यकाभित्र पनि खेतीपाती बढी हुने भक्तपुरमा सर्पदंशका घटना बढी छन्। जानकारहरू भन्छन्- तराईबाट ट्रकमा आउने काठ दाउरा, पाइप आदिका माध्यमबाट विषालु सर्प पनि काठमाडौं भित्रिरहेका छन्।

No comments: