
नेपाली बजार स्टाइलिस्ट बाइक पारखीहरूका निम्ति फराकिलो बन्दै गएको छ। प्रत्येक महिना स्पोर्ट्स सेरिजका बाइकका नयाँ-नयाँ शोरुमहरू खुलिरहेका छन्। होसुङ, डिमक, डुकाटी यसका प्रमाण हुन्। यामाहा, हिरोहोन्डा, बजाजजस्ता कामकाजी वर्गलाई लक्षित गरेर बाइक उत्पादन गर्ने कम्पनीले समेत स्पोर्ट्स लुकमा ध्यान दिएर त्यस्तै बाइक ल्याइदिएपछि स्टाइलिस्ट बाइक चढ्न चाहने उपभोक्तालाई थप सजिलो भएको छ। नेपालमा चाइनिज, कोरियन, जापानिज बाइकहरूको पनि उत्तिकै वर्चस्व छ। कोरियन स्टाइलिस्ट बाइक डेलिमका नेपाली उपभोक्ता पनि उत्तिकै छन्। कोरियन बाइक भी-आर अग्लो घोडामा सयर गर्न चाहनेहरूका लागि सही रोजाइ हो। होन्डाले ६५० सीसीदेखि १००० सीसीको रेन्जमा सिबिआर हर्नेट ल्याएको छ। यामाहाको आर वान फाइभ १ सय ५० सीसी र आरवान १००० पनि उत्तिकै बिक्री भएका बाइक हुन्। बिजनेसम्यान, हाइक्लास अफिसर तथा उनीहरूका छोराछोरी स्टाइलिस्ट बाइकका उपभोक्ता हुन्। स्टाइलिस्ट स्पोर्ट्स बाइकले खासै माइलेज दिँदैनन्, १ लिटर पेट्रोल २० किलोमिटर गुड्न पनि अपुग हुनसक्छ। 'स्पोर्ट्स बाइक किनेर सर्कलका युवतीहरूको अगाडि 'सो-अप' गर्ने हो।' उज्जन शेर्पा भन्छन्- 'स्टाइलिस्ट बाइक चढ्नेहरूले माइलेजको ख्याल गर्ने होइन र गर्दैनन् पनि, तेल अभाव हुँदा चाहिँ गाह्रो पर्छ।'
यामाहाका बिग बाइक मर्कन्डाइजका म्यानेजर छिरिङ फुन्सोकका अनुसार पहिलो श्रेणीका स्टाइलिष्ट बाइकमा यामाहाको एफजेड सेरिज, आरवानफाइभ, टिभिएसको अपाचे, बजाजको पल्सर, डेलिमको रोडविन, हिरो होन्डाको करिज्मा, जेडएमआर, सिबिजेड, चाइनिज बाइक मिगेली, तथा कावासाकीको निन्जा पर्छन्। जुन बाइकको मूल्य १ लाख ७५ हजारदेखि ३ लाख रुपैयाँसम्म छ। निन्जाको मूल्य ७ देखि ८ लाख रुपैयाँ पर्छ। मोटरसाइकल जति बढी सीसीको हुन्छ त्यो त्यति नै महँगो हुन्छ।
होसुङ ब्रान्डका बाइक २५० सीसीदेखि ६५० सीसीसम्म पाइन्छन्। २५० सीसीको मूल्य ५ लाख ५० हजार रुपैयाँको हाराहारी पर्छ भने ६५० सीसी ११ लाख रुपैयाँको हाराहारीमा। सुजुकी ब्रान्डका स्पोर्ट्स बाइक पनि उत्तिकै लोकप्रिय छन्। सुजुकीका दुई मोडल एउटा फूल बडी कभर्ड स्पोर्ट्स बाइक र दोस्रो उस्तै इन्जिन भएको न्याकेड बडी स्ट्रक्चरको स्टि्रट बाइक। सुजुकीको फूल बडि कभर्डमा हायाबुसा पर्छ भने न्याकेड स्ट्रीट बाइकमा बि-किङ। न्याकेड सेरिजको हेन्डल अलि सहज देखिने खालको हुन्छ, भने फुल बडी कभर्डको घोप्टिएको स्टाइलमा हुन्छ। यी बाइकहरू ६०० सीसीदेखि १३०० सीसीसम्मका हुन्छन्। यी बाइकहरू २२ देखि २५ लाख रुपैयाँको हाराहारीमा खरिद गर्न सकिन्छ। सुजुकीकै जीएसआर ६०० सीसी, जिएसएक्स आर ६०० तथा जिएसएक्सआर १००० सीसीका स्पोर्ट्स लुक्सका बाइक पनि बाइकर्सहरूले मनपराएका छन्। जिएसएक्सआर फुलबडी स्पोर्ट्स बाइक हो। जिएसआर ६०० को मूल्य १६ लाखको हाराहारीमा छ भने जिएसएक्सआर ६०० को २१ लाखभन्दा बढी पर्छ। यामाहाको आरवान १००० सीसी बाइकको मूल्य २४ लाख रुपैयाँ पर्छ भने आरसिक्स ६०० सीसी को २१ लाख रुपैयाँ पर्छ। इटालियन ब्रान्डको डुकाटीको ६९६ मोनस्टर, ७९६ मोनस्टर, ७९६ हाइपरमोटार्ड पछिल्लो समयमा युवाहरूको ध्यान खिच्न सफल बाइक हुन्। ९ महिना अघि नेपाली बजारमा आएको डुकाटी ६९६ मोनस्टरको मूल्य १६ लाख ८० हजार रुपैयाँ पर्छ भने ७९६ हाइपर मोटार्डलाई करिब १८ लाख पर्छ। युरोपकै लोकप्रिय डुकाटीको स्टाइलिस्ट स्पोर्ट्स बाइकको नेपालमा आधिकारिक विक्रेता टर्बो मोटर्स ट्रेडिङ हो। 'स्पोर्ट्स सेरिजका बाइकप्रति नेपाली युवाहरूमा अचम्म लाग्दो आकर्षण छ,' टर्बो मोटर्सका अध्यक्ष अभिनवशमशेर जबराले भने- 'छोटो अवधिमै डुकाटीले नेपाली बजारमा पाएको सफलताले पनि यसलाई पुष्टि गर्छ।' युरोपियन ब्रान्ड केटिएमको ६०० सीसीका सुपर मोटा र केटिएम ड्युकको नेपाली बजारमा आधिकारिक प्रवेश नभए पनि यो बाइक चढ्नेहरू पनि थुप्रै छन्।
अफरोडका लागि डिमक
सुलुत्त परेको पिचका लागि भन्दा पनि अफरोड (ग्राभल तथा बिग्रिएको सडक खासगरी पहाडी एरिया) का लागि मलेसियन ब्रान्डको डिमक बाइक नेपाली बजारमा भित्र्याइएको हो। ट्रायल बाइक पनि भनिने यो बाइक नेपाली उपभोक्ताका लागि सही हुने नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेट प्रालीले बताएको छ। कोरियन हार्डफोर्ड भिआर, होन्डाको एक्सल आर, सुजुकीको डीआरसँग यसको प्रकृति मिल्छ। कम्पनीका अनुसार मोटरसाइकल बजारमा ल्याउनुअघि तीन महिना नेपालमै परीक्षण गरिएको थियो। परीक्षणको नतिजा राम्रो भएकाले यो मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। सुरुमा डिमकका दुई मोडलमा डीएमएक्स-आर र कोउजर-२५० ल्याइएको थियो। अन्य स्टाइलिस्ट मोटरसाइकलभन्दा डिमकका बाइक तुलनात्मक रुपमा सस्तो भएको कम्पनीले बताएको छ। मोटरसाइकल एडभेञ्चर मन पराउनेहरूका लागि डिमक सही छनोट हुनसक्छ।
हार्ले ग्याङ र पूर्वयुवराज पारस
हार्ले डेभिड्सन मोटरबाइक दिवसको अवसरमा स्पेनको बार्सिलोनामा यो बाइकका पारखीहरूको र्याली नै निस्किएको थियो। कम्पनीले आयोजना गरेको उक्त र्यालीमा युरोपभरका हार्ले डेभिड्सन बाइक प्रयोगकर्ताहरू बार्सिलोनामा भेला भएका थिए। 'हार्ले ग्याङ' हार्ले डेभिड्सनले भित्र्याएको मोटरसाइकल संस्कृतिका कार्यकर्ताहरू हुन्। विश्वभर चर्चित हार्ले ग्याङका सदस्यहरू मोटरसाइकलकै लागि बाँच्छन् र मोटरसाइकलकै लागि ज्यान दिन पनि तयार हुन्छन्। हार्ले डेभिड्सनका एक उपभोक्ता पूर्वयुवराज पारस पनि हुन्। हङकङ भ्रमणका क्रममा पारसले आफ्नो प्रयोगका लागि १६०० सीसीको हार्ले डेभिड्सन ल्याएका थिए। युवराज रहँदै कहिलेकाहीँ उनी हार्ले डेभिड्सनमै काठमाडौंको सडकमा हुइँकिएका देखिन्थे। पारसले चढ्ने गरेको उक्त बाइकको मूल्य अहिले ३० लाखभन्दा बढी पर्छ। युरोप र अस्ट्रेलियाको सिड्नीमा यस्ता बाइक हाक्नेहरूको ग्याङ देखिन्छ। बाक्लो छालाको पहिरन, कालो चस्मा, स्लिबलेस अंगमा भरिएको ट्याटु हार्ले ग्याङका सदस्यहरूको विशेषता हो। हार्ले डेभिड्सन संस्कृतिलाई अँगालेका यो ग्याङका सदस्यहरू कन्टि्रसाइडबाट केही क्षणमै सहर आइपुग्छन्। नेपालमा हार्ले डेभिड्सनको आधिकारिक विक्रेता नभए पनि स्वदेश र्फकनेहरूले आफैं यो बाइक लिएर आउने गरेका छन्। ८०० सीसीको हार्ले डेभिड्सन चलाएका छिरिङ भन्छन्- 'मैले १९ लाखमा हार्ले डेभिड्सन किनेको थिएँ।
पावर र स्टाइलका लागि होसुङ
दक्षिण कोरियाली कम्पनी एसएनटी मोटर्सले उत्पादन गरेको होसुङ ब्रान्डको मोटरसाइकल अहिलेका युवाहरूको रोजाइको बाइक हो। बतास समूहको बतास मोटर्स प्रालिले यसको बिक्री थालेको हो। युरोप र अमेरिकी बजारमा राम्रो ब्यापार गरेकाले नेपालमा पनि यो मोटरसाइकल भित्र्याएको कम्पनीले जनाएको छ। हाल युरोपेली बजारमा यो मोटरसाइकलको बिक्री हिस्सा ४३ र अमेरिकी बजारमा २८ प्रतिसत भएको कम्पनीले बताएको छ। बतास मोटर्सले होसुङको जिटि ६५० आर, जिटि २५० आर, आरटी १२५ डी, आरएक्स १२५ एसएम, आरएक्स १२५ डी मोडल बिक्रीका लागि राखेको छ। यी सबैमध्ये ६५० सीसीको मोटरसाइकल सबैभन्दा पावरफुल छ। यो पावर सेग्मेन्टको मोटरसाइकल हो र पावर मन पराउनेहरूका लागि यही मोटरसाइकल उपयुक्त भएको कम्पनीको दाबी छ। यसलाई रोड स्पोर्ट्स मोटरसाइकल मानिन्छ। ह्योसुङको २५० सीसीको बाइकको मूल्य ५ लाख ५० हजार रुपैयाा हाराहारी छ भने ६५० सीसीको मूल्य ११ लाख रुपैयाँ पर्छ।
कहाँ कुदाउने हेभी बाइक ?
अक्सर दरबारमार्ग, चक्रपथ, ठमेल तथा न्युरोडमा युवाहरू सो अपकै लागि भए पनि हेभी बाइक कुदाइरहेका हुन्छन्। खासगरि शुक्रबार गुड फ्राइडे र शनिबार ह्याप्पी होलिडेका दिन काठमाडौंमा हेभी बाइक गुड्छन्। काठमाडौंको जाम उनीहरूका निम्ति सबैभन्दा ठूलो शत्रु हो, फराकिलो सडक नहुनु अर्को दुर्भाग्य। 'हेभी बाइक भन्नेबित्तिकै हाइस्पीडमै कुदाउनुपर्छ भन्ने होइन' हार्ले डेभिड्सन चलाउने छिरिङले भने- 'आफ्नो प्यासन पूरा गर्न र इज्जत बढाउन हेभी बाइक चढ्ने हो' अरूभन्दा आफूलाई पृथक् देखाउन हेभी बाइक चढ्ने गरेको उनको भनाइ थियो। छिरिङले भने- हामी ४ पांग्रेभन्दा पनि स्टाइलिस्ट २ पांगे्रमै सन्तुष्ट छौं। हेभी बाइक दिनहुँ अफिस आउन प्रयोग गर्ने होइन, उनले थपे- 'बिदाको दिन वा अन्य कुनै अवसरमा ग्रुपसँग मिलेर चलाउने हो।' राति काठमाडौंको खुल्ला सडकमा थुप्रै हेभी बाइक गुड्ने गरेका छन्। कतै-कतै अन्डरग्राउन्ड रेस पनि आयोजना गरिन्छ, तर यसको आधिकारिक पुष्टि भने भएको छैन।
क्रुजको आकर्षण भिन्दै
क्रुजलाई आरामदायक बाइक मानिन्छ। यामाहाको इन्टाइसर, बजाजको एभेन्जर सिम्पल लक्जरियस क्याटोगरिका बाइक हुन्। लो-राइडिङ तथा कम्र्फटेबल फिलिङका लागि उपभोक्ताहरू यस्तो बाइक रोज्छन्। क्रुज बाइक टुरिङ तथा हाइवेका लागि उपयुक्त हुन्छन्। लङ ट्राभलका लागि क्रुजको छनौट सही हुनसक्छ। क्रुज बाइक पनि हेभि सीसीमा उपलब्ध छन्। यामाहाकै बी म्याक्स १७०० सीसी, ड्रागस्टर ११०० सीसी हुन् तर यी बाइक नेपालमा छैनन्। हाइयर सीसी क्रुजहरू सुलुत्त परेको सडकमा गुड्ने भएकाले होला नेपालमा यी बाइक त्यति देखिएका छैनन्। बि्रटिस बाइक बुलेट क्रुजको क्याटोगरिमा पर्दैन तर यसको छुट्टै इज्जत छ। ३५० देखि ५०० सीसीसम्म उपलब्ध बुलेट स्पोर्ट्स बाइक क्याटोगरीमा पनि पर्दैन्। यो स्टाइलिस्ट बाइकका आफ्नै पारखी छन्। आवाज र लुकिङ बुलेटका विशेषता हुन्।
No comments:
Post a Comment