
यदि विश्वका सबै इन्टरनेट कम्पनीले खपत गर्ने ऊर्जाको परिमाणलाई एक ठाउँमा राख्ने हो भने त्यस्ता कम्पनीको समूह बढी ऊर्जा खपत गर्ने पाँचौं देश बन्छ। झट्टा सुन्दा पत्याउन गाह्रो हुन्छ तर वातावरणको क्षेत्रमा क्रियाशील संस्था गि्रनपिसको पछिल्लो अध्ययनअनुसार इन्टरनेट कम्पनीको ऊर्जा खपत रूसको भन्दा बढी छ।
ग्रिनपिसले गरेको पछिल्लो अध्ययनबाट फेसबुक, टि्वटर तथा जिमेललगायतका इन्टरनेट सेवा प्रदायकहरूले विश्वको कुल ऊर्जा खपतको २ प्रतिशत हिस्सा ओगट्ने देखाएको छ। इन्टरनेट सेवाप्रदायकहरूको डाटा सेन्टरमा डाटा भण्डारण तथा सेवा सञ्चालनमा यतिधेरै ऊर्जा खपत हुने गरेको र यस्तो उर्जाको खपत बर्सेनि १२ प्रतिशतले बढ्दै गएको देखिन्छ। यस्ता इन्टरनेट कम्पनीहरूले स्वच्छ ऊर्जाको प्रयोग एवं उत्पादनतर्फ ध्यान नदिएको तथा ऊर्जा मितव्ययी प्रविधिको विकासमा पनि लगानी नगरेको गि्रन पिसको भनाइ छ।
अध्ययनका क्रममा लिइएका १० वटा इन्टरनेट कम्पनीमध्ये सबैजसोले जीवांश इन्धन तथा आणविक ऊर्जा प्रयोग गरेको पाइयो। इन्टरनेट कम्पनीले कुल ऊर्जा खपतमध्ये ५० देखि ८० प्रतिशत ऊर्जा निकै प्रदूषक मानिएको कोइलाबाट प्राप्त गर्ने गरेका छन्। याहु र गुगलले भने स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिएका र वायु तथा सौर्य ऊर्जामा समेत लगानी गरेको गि्रनपिसको प्रतिवेदनमा उल्लेख छ।
इन्टरनेट सेवाप्रदायकहरू आफूले प्रयोग गर्ने ऊर्जा र उत्सर्जन गर्ने हरितगृह ग्यासका विषयमा पारदर्शी नभएको गि्रनपिसको आरोप छ। यस्ता कम्पनीहरूले जहाँ सस्तो प्रदूषक ऊर्जा पाइन्छ त्यहीँ आफ्ना कार्यालय तथा सेवा केन्द्र स्थापना गरेका छन्।
इन्टरनेट कम्पनीमध्ये अकामाइ सबैभन्दा बढी पारदर्शी रहेको र याहुसँग मात्र कार्वन उत्सर्जनको अद्यावधि तथ्यांक रहेको गि्रनपिसले उल्लेख गरेको छ। गि्रनपिसले इन्टरनेटको बढ्दो विस्तारसँगै बढेको ऊर्जाको खपत एवं प्रदूषणलाई क्लाउड कम्प्युटिङको नाम दिएको छ। प्रतिवेदनअनुसार गुगलले महिनाको २ लाख ६० हजार किलो कार्वन डाइअक्साइड उत्सर्जन गर्छ।
विभिन्न इन्टरनेट सेवा प्रदायक तथा सूचनाप्रविधि सस्थाको स्वच्छ ऊर्जा प्रयोग दरः
- याहुः ५५.९ प्रतिशत
- गुगलः ३६.४ प्रतिशत
- अमाजोन डट कमः २६.८ प्रतिशत
- माइक्रोसफ्टः २५ प्रतिशत
- टि्वटरः २१ प्रतिशत
- फेसबुकः १३.८ प्रतिशत
- आइबीएमः १०.९ प्रतिशत
- एचपीः ९.९ प्रतिशत
- एप्पलः ६.७ प्रतिशत
No comments:
Post a Comment