Pages

Friday, March 25, 2011

युवायुवतीमा बढ्दो आत्महत्या


हालैको एक साता दुई दिनको फरकमा जिल्ला प्रहरी कार्यालय धनकुटाले आत्महत्यासम्बन्धी दुईबटा घटना दर्ता गर्‍यो । दुवै  घटनामा झुन्डिएर आत्महत्या गरिनुका साथै अन्य धेरै समानता जोडिएका थिए । आत्महत्या गर्ने दुवै जना १६ वर्षीया युवती थिए भने दुवै  विद्यालय स्तरका छात्रा । एक जना कक्षा ९ मा र अर्की कक्षा ७ मा अध्ययनरत थिइन् । मृत्यु हुनेमा एक जना धनकुटा नगरपालिका वडा नं.  ३ घर भएकी अनु राई र अर्की भीरगाउँ ८ घर हुने रुद्रा कुमारी विक ।

अनुले आत्महत्या गर्नुको कारण सामान्य देखिन्छ, उनलाई अभिभावकले घरनजिकै लागेको मेलामा नसोधी किन गएकी भनेर हप्काएकै  आधारमा आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी रहे पनि छिमेकीहरू उनी कुलतमा फसेकाले आवेगमा आई आत्महत्या गरेको हुनसक्ने  बताउँछन्, तर त्यसका साथ साथै उनमा धेरै महत्वकंक्षा रहेको र त्यो महत्वकांक्षालाई परिवारले पूर्ति गर्न नसक्ने अवस्थाका कारण उनले  आत्महत्या गरेको अनुसन्धानले देखाएको धनकुटा प्रहरी प्रमुख अरुण कुमार बीसी बताउँछन् । उनलाई नजिकबाट चिन्ने साथीहरू भने उनले  प्रेममा धोका पाएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्छन् ।

अर्को घटनामा अघिल्लो दिनभरि सँगै हिँडेकी साथीले भोलिपल्ट झुन्डिएर आत्महत्या गरेपछि भीरगाउँका दुई युवती पनि प्रहरीको निसानामा  परे । भीरगाउँकी १६ वर्षीया रुद्राकुमारी विकले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरेपछि अनुसन्धानका लागि उनीहरूलाई जिल्ला  प्रहरी कार्यालय, धनकुटाले दुई दिन हिरासतमा राख्यो र बोलाएका बेला उपस्थित हुने सर्तमा छाडिदियो । अनुसन्धानमा दुई जना साथीसहित  अन्य तीन जना युवा पनि सँगै रहेको देखियो र त्यही घटनालाई लिएर तीन युवकलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

समातिएका युवकमध्ये नेपाली सेनामा कार्यरत मंगल विक मृतक रुद्राको प्रेमी रहेको र दिनभर सँगै घुमफिर गरेका कारण परिवारले  हप्काएपछि उनले आत्महत्या गरेको उनले प्रहरीसामु बयान दिएका छन् भने छुटेका युवतीहरू ती युवकले रुद्रासँग प्रेमको नाममा यौनसम्पर्क गरेको र त्यसपछि आफु विवाहित भएकाले स्वीकार गर्न नसक्ने बताएपछि  उनले आत्महत्या गरेको बताउँछन् ।

त्यसैगरी छ महिनाअघि झुन्डिएर आत्महत्या गरेको एउटा घटना पनि प्रेमसँग जोडिएको छ । खोकुकी २६ वर्षीया जयकुमारी राईले पनि प्रे मीबाट धोका पाएपछि आत्महत्या गरेकी भन्ने कुरा सतहमा आए पनि उनको शव भेटिएपछि पक्राउ परेका एकल राईले नेपाली सेनाको भो जपुर घोडेटारमा कार्यरत शम्भु सिक्देन राईले मादक पदार्थ सेवन गरी घाँटी थिची झुन्ड्याएर मारेको बयान दिएका छन् । मुख्य अभियुक्त  शम्भु हालसम्म फरार छन् ।

गत वैशाखदेखि जिल्ला प्रहरी कार्यालय, धनकुटामा आत्महत्याका घटनाको दर्ता हेर्दा प्रतिमहिना दुईवटासम्म भएको देखिन्छ । आत्महत्या गनेर् मा अधिकांश टिनएजका देखिन्छन् ।

११ वर्षकै उमेरमा आत्महत्या गर्नेमा पाख्रीवासका पारस गुरुङ छन् । उनले झुन्डिएर आत्महत्या गर्नुको कारण अझै पनि खुलेको छैन ।  हात्तीखर्कका ४० वर्षीय भूपराज तामाङले भने पारिवारिक तनावका कारण आत्महत्या गरेको प्रहरीको दाबी छ । उनी तीन वर्ष वैदेशीक रो जगारी गरेर फर्किएका थिए ।

गएको १० महिनामा प्रहरीमा हत्यासम्बन्धी दर्ता भएका १३ वटा घटनामा ८ वटा आत्महत्याका घटना छन् । त्यसमा ११ वर्षीय  पाखि्रवासनिवासी पारस गुरुङ, १७ वर्षीय प्रकाश गुरुङ, धनकुटा नगरपालिकाका १९ वर्षीय नगेन्द्र भण्डारी, बूढीमोरङकी २१ वर्षीया रोजवीना  लिम्बु, खोकुकी २६ वर्षीय जयकुमारी राई, धनकुटाकी १६ वर्षीया अनु राई, भीरगाउँकी १६ वर्षीया रुद्राकुमारी विक तथा हात्तीखर्कका भूपराज  तामाङ छन् ।

आत्महत्याका घटना दोहोरिँदै जाने हो भने आगामी वर्षसम्ममा धनकुटाले आत्महत्यामा पूर्वाञ्चलमै पहिलो स्थानमा रहेको इलामलाई पनि  उछिन्ने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख अरुण कुमार बीसी बताउँछन् । बीसीका अनुसार धनकुटा यस वर्ष  पूर्वाञ्चलमा इलाम र झापालाई पछ्याउँदै तेस्रो स्थानमा आइपुगेको छ ।

यसरी दिन प्रतिदिन जिन्दगीबाट नैराश्यता जाग्दै आत्महत्याको बाटो रोज्न प्रेरित गर्नुको मुख्य कारण युवा अवस्थामा अन्य साथीहरूको  हाइफाई जीवनअनुसार आफू समायोजन हुन नसक्ने देखेर जिन्दगीप्रति नै वितृष्णा जागेकोे प्रहरी प्रमुख बीसीको विश्लेषण छ । बीसी भन्छन्-  'अर्को जटिल समस्या भनेको लभ ट्रेजेटी पनि हो ।' सानै उमेरमा प्रेममा फस्ने र पछि प्रेम सफल नभएपछि आत्महत्याको बाटो रोजेका घटना  सबैभन्दा बढी छन् । भर्खरै एसएलसी दिएर सहर पसेका युवायुवतीले बढी आत्महत्या गरेको देखिन्छ । युवा र वृद्धावस्थामा आत्महत्याका  घटना बढी हुने गरेको धनकुटा अस्पतालका चिकित्सक देवेन्द्र भट्टराई बताउँछन् ।

विद्यालय वा प्लस टुमा विषयगत अध्ययनसँगै सामाजिक नैतिकताका विषयमा बहस हुनुपर्ने प्रहरी प्रमुख बीसी बताउँछन् भने डा. भट्टराई  त्यसका साथै सरकारले आत्महत्याका सम्बन्धमा अध्ययन गरी के कारणले आत्महत्याका घटना बढ्दैछन् पत्ता लगाई छलफल चलाउनुपर्ने  बताउँछन् ।

No comments: