
पहिलो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो। पक्राउ परेका विश्वकर्मा अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनामा छन्। उनले प्रहरीसामु बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत हुने पनि नाबालक र बलात्कार गर्ने पनि नाबालक नै भएपछि प्रहरीलाई मुद्दा चलाउन अप्ठ्यारो परेको प्रहरी निरीक्षक विनोद कुमार शर्मा बताउँछन्। कानुनमा १० वर्ष सम्मकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाबालकको हकमा आधा सजाय बेहोर्नुपर्ने नियम भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको निरीक्षक शर्मा बताउँछन्।
विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्।
पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।
प्रहरीले पीडित बालिकाहरूका बाबुले दिएको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरेको हो। विश्वकर्मा नाबालक भए पनि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक शरद कुमार तामाङ बताउँछन्। चारै जना बालिका बलात्कारको सिकार भएको जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। नाबालकहरूमा यौन अराजकता बढ्नु भनेको अश्लील च्यानल एवं इन्टरनेटको प्रभाव र गलत मानसिकताको उपज भएको धनकुटा बहुमुखी क्याम्पसका समाज विकास विषयका सह-प्राध्यापक नन्द न्यौपाने बताउँन्। न्यौपाने भन्छन्- 'अहिले बालबालिकाहरूले सहज रूपमा यौनजन्य सामग्री भेट्ने हुँदा उनीहरूमा कौतूहलता बढेर यस प्रकारका घटना घट्छन्।' जिल्लामा बाल-यौनशोषणको यो पहिलो घटना भने होइन, यसअघि पनि दुईवटा यस्तै घटना घटिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ती घटनामा भने प्रौढहरूको संलग्नता थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्याङ्क हेर्दा बलात्कार र जबर्जस्ती करणीका मुद्दा थोरै परे पनि धेरै मुद्दा गाउँघरमै मिलाइने गरेको प्रहरी निरीक्षक शर्मा बताउँछन्। राजनैतिक दबाब, सामाजिक बन्धन एवं सामाजिक भयका कारण धेरै घटना प्रहरीमा आइनपुग्ने प्रहरी निरीक्षक शर्माको अनुभव छ। आएकामध्ये कतिपय घटना निवेदकको उजुरीपश्चात् पीडितले होसियारी नअपनाउँदा पीडक उम्कने गरेका छन्। शर्माका अनुसार पिडितले प्रहरीमा आउनुअघि नुहाइदिने, कपडा धोएर आउने वा फेरेर आउने, कोरीबाटी गरेर आउँदा निसानी हराएका कारण पीडकहरू उम्कने गरेका छन्। त्यसका अतिरिक्त पिडकले उजुरी दिए पनि सामाजिक डर र दबाबका कारण प्रहरीलाई नै पनि कतिपय मुद्दा चलाउन असजिलो भएको छ। शर्मा भन्छन्- 'पीडकले राम्रोसँग खुट्टा नटेकिदिँदा हामीलाई मुद्दा चलाउन अप्ठेरो हुन्छ।'
यसरी बलात्कारका घटना वृद्धि हुदै जानुमा समाज खुला रूपमा जाने क्रम रहेको तथा दोषीको मनोबल बढ्दै जानु नै मुख्य कारण भएको प्रध्यापक न्यौपानेको ठम्याइ छ। 'कतिपय मानिसमा विकृत मानसिकताले डेरा जमाउँदै लगेको छ।' प्राध्यापक न्यौपाने भन्छन्— 'यस्तो मानसिकता भएकाहरूले सामाजिक रवाफका आधारमा धम्क्याउने, तर्साउने गरेका छन्।' समाजमा उनीहरूको प्रतिष्ठा एवं राजनीतिक साँठगाँठका कारण पीडितहरू पैसा वा अन्य कुनै सर्तमा मेलमिलाप गर्न बाध्य हुन्छन्। यसरी मेलमिलाप गर्दा तत्काल पीडितले पैसा पाए पनि भविष्यमा पीडकहरूको मनोबल बढ्ने हुनाले घटना दोहोरिरहेको न्यौपानेको दाबी छ। प्राध्यापक न्यौपाने यस्ता घटनाको उपचार मेलमिलापबाट भन्दा पनि कानुनी रूपमा खोज्नु नै दीर्घकालीन समाधानको बाटो भएको बताउँछन्।
No comments:
Post a Comment