Pages

Sunday, August 7, 2011

मंगलमा पानीको संकेत पत्ता लगाउनेमा नेपाली पनि

मंगल ग्रहमा पानी भएको भाग भनी हालै नासाले सार्वजनिक गरेको तस्बिर -बायाँ) र त्यससम्बन्धी अनुसन्धानमा संलग्न टोलीका नेपाली विद्यार्थी लुजेन्द्र ओझा ।

संसारभरका वैज्ञानिकहरूका लागि यो साता खुसीको विषय बन्यो- मंगल ग्रहमा पानीको संकेत ! खुसी नहुनु पनि किन, जहाँ पानी त्यहाँ जिन्दगानी !

तर हाम्रा लागि चाहिँ खुसीको कुरा अझ अर्कै छ- त्यो पानीको सम्भाव्यता पत्ता लगाउने अनुसन्धान टोलीमा नेपाली युवा विद्यार्थी पनि थिए । थिए मात्र हैन, उनले नै सुरुमा पानीको सम्भावना औंल्याएका थिए ।

संयुक्त राज्य अमेरिकाको एरिजोना विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत नेपाली लुजेन्द्र ओझा त्यही अनुसन्धान टोलीका एक सदस्य हुन् जुन टोलीले मंगल ग्रहमा पानी र जीवको अस्तित्व हुन सक्ने गतिलो आधार हालै प्रस्तुत गरेको थियो ।

एरिजोना विश्वविद्यालयका लुनार एन्ड प्लानिटोरी प्रयोगशालाका अनुसन्धानकर्मी अलप|mेड म्याक्विनलाई उद्धृत गर्दै बिहीबार प्रकाशित वासिङटन पोस्टमा लेखिएको छ, 'सुरुमा जियोफिजिक्सका जुनियर लुजेन्द्र ओझाले मंगल ग्रहबाट स्याटेलाइटले पठाएका तस्बिरहरूमा गाढा धर्साहरू देखेछन् । उनले ती धर्साहरूलाई निरन्तर नियालेर अध्ययन गर्दै जाँदा मौसमअनुसार तिनमा नाटकीय परिवर्तन आएको पाए ।' म्याक्विन उक्त अनुसन्धानबारे 'साइन्स' जर्नलमा प्रकाशित आलेखका प्रमुख लेखक हुन् ।

लुजेन्द्रका अनुसार उनी आफ्नो विश्वविद्यालयका लागि मंगल ग्रहबारेको शोधमा अरू तीन वरिष्ठ अनुसन्धानकर्मीहरूसँगै खटिएका थिए । स्याटेलाइटबाट प्राप्त

तथ्यांकहरू जम्मा गर्ने उनको जिम्मेवारी थियो भने समूहका अरू अग्रजहरू त्यसबारे विश्लेषण गर्थे । विश्वविद्यालयले सन् २००५ मा 'हाइराइज' नामको स्याटेलाइट मंगल ग्रहमा पठाएको थियो ।

 त्यो स्याटेलाइटले मंगलबाट तस्बिरहरू पठाउँथ्यो । त्यसलाई बटुलेर अध्ययन गर्ने जिम्मा लुजेन्द्रको थियो । 'मलाई दिनदिनै कौतूहल बढ्दै गयो,' एरिजोनाबाट शनिबार उनले स्काइपमा कान्तिपुरसित भने, 'हरेक सिजनमा एकै ठाउँको फरक-फरक फोटो आएपछि झनै गहिरिएर बुझ्न मन लाग्यो ।'

एकै ठाउँको तस्बिर पनि गर्मी सिजनमा एकदमै स्पष्ट र जाडोमा कालो देखेपछि गत वर्ष उनले टोलीका वरिष्ठहरूलाई भनेछन्, 'ल पक्का त्यहाँ केही छ ।' उनीहरूले सुरुमा त पत्याएनन् रे । 'तर वैज्ञानिक तथ्य न हो,' उनले भने, 'मैले नपत्याउनुलाई अनौठो मानिन, सुरुमा सबैले विश्वास गर्दैनन् ।' तैपनि उनले त्यहाँ पानीको सम्भावना हुन सक्ने उल्लेख गर्दै लेखे, 'एभिडेन्स अफ वार्म सिजन बि्रनी फ्लोज अन मार्स ।'

अन्ततः नासाले यही अनुसन्धानलाई आधार मान्दै 'मंगल ग्रहमा पानी र जीवको अस्तित्व हुन सक्ने' घोषणा गरेको हो ।

'अहिलेसम्मकै सर्वोत्कृष्ट खोज,' नासाले आफ्नो मुख्यालय वासिङटनमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । यसअघि मंगल ग्रहमा पानी र जीव अस्तित्वबारे गरिएका अनुसन्धानमा यसपटक जस्तो भरपर्दो प्रमाण पाइएको थिएन ।

पछिल्लो अनुसन्धानबाट पत्ता लागेअनुसार मंगल ग्रहको भूमध्य भागको दक्षिणी क्षेत्रमा पानीको बहाव हुन सक्ने देखिएको छ । उक्त क्षेत्रमा पानी अनुकूल तापक्रम पनि पाइएको छ । पानीको बहाव भने एकदमै कमजोर रहेको जनाइएको छ ।

तस्बिरहरूको विश्लेषणबाट त्यहाँका खोलाहरू औंला आकारझंै साँघुरिएर बगेका र ती आधादेखि ५ मिटरसम्म चौडाइका भएको अनुमान छ ।

नासाको यो पछिल्लो जानकारीसँगै लुजेन्द्र चर्चामा आएका हुन् । 'यत्तिको चर्चा होला भन्ने सोचेकै थिइनँ,' ९ महिनाअघि यो तथ्य पत्ता लगाए पनि बिहीबारमात्रै नासाले आधिकारिक रूपमा पुष्टि गरेपछि लुजेन्द्रले भने, 'जीवनमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ ।'

उनलाई फेसबुकमा पनि धेरैले बधाई र शुभकामना दिइरहेका

छन् । 'तिमी जस्तो लगनशील नेपालीको साथी बन्न पाएकामा गर्व लागेको छ,' क्यालिफोर्नियाकी मेलिसा मिलानले भनेकी छन् ।

काठमाडौं, म्हैपीका लुजेन्द्र ६ वर्षअघि अमेरिका गएका हुन् । अमेरिका जानुअघि ९ कक्षासम्म ग्यालेक्सी पब्लिक स्कुलमा सँगै पढेका काठमाडौंका अमिर जोशीले भने, 'एकदमै बिन्दास खालको थियो तर एउटा कुरामा ध्यान दिइरहने बानी थियो ।' लुजेन्द्रका अनुसार उनका बुबा डा. टंकप्रसाद ओझा पनि एरिजोना विश्वविद्यालयमै अनुसन्धानकर्ता छन् ।

यसैबीच विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. रामहरि अर्यालले लुजेन्द्रको कामको प्रशंसा गर्दै उनले नेपालको नाम राखेको प्रतिक्रिया दिएका छन् । तर उनको योगदानबारे मन्त्रालयमा आधिकारिक रूपमा कुनै खबर नआएको उनले बताए ।

Saturday, August 6, 2011

निर्वस्त्र सडक नाटक गर्दा गिरफ्तार

 
हालै पोल्यान्डमा सम्पन्न एक सांगीतिक महोत्सवमा सहभागी भएको फ्रान्सको नाट्य समूह निर्वस्त्र भएपछि कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। पोल्यान्डको पोज्नानमा वाषिर्क रूपमा आयोजना हुँदै आएको माल्टा महोत्सवलाई रोमाञ्चक बनाउन आयोजकले फ्रान्सको सडक नाट्य समूहलाई निमन्त्रणा गरेको थियो।

उक्त नाट्य समूहले निर्वस्त्र नाटक प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा केही बेर कार्यक्रम अवरुद्धसमेत भएको थियो। महोत्सवमा सहभागीहरूको संख्या अत्यधिक देखेर प्रहरीले थप बल लगाएर हस्तक्षेप गरेको कार्यक्रमका एक सहभागीले बताए। हस्तक्षेप गर्नुको कारण स्पष्ट गर्दै प्रहरीले भन्यो- नाट्य कार्यक्रमका लागि स्टेज पनि थिएन। मानिसहरूको भीडमा निर्वस्त्र प्रदर्शन भैरहेको देखेर हस्तक्षेप गरिएको हो। प्रहरीले सडक नाटक स्टेजबिना प्रदर्शन गरिने कुरा थाहा नपाएको पनि जनाएको छ, तर पनि सार्वजनिक स्थलमा निर्वस्त्र प्रदर्शन गर्न नपाइने हुनाले हस्तक्षेप गरिएको प्रहरीको जिकिर छ।

दुई अनौठा बलात्कार

एक हप्ताको अन्तरमा घटेका दुई घटनाले धनकुटामा बहस सिर्जना गरे पनि उस्तै प्रकृतिका ती घटनाका परिणाम भने फरक थिए। दुवै घटनाले स्थानीय स्तरमा सनसनी मच्चाए। पहिलो घटना अपत्यारिलो थियो, उक्त घटनामा १२ वर्षीय बालकले एकै परिवारका चार बालिकालाई बलात्कार गरे भने अर्को राजीखुसी शारीरिक सम्बन्धपश्चात् जबर्जस्ती बलात्कार गरेको आरोप लगाई १ लाख ३० हजार रुपैयाँ लिएर मिलापत्र गरिएको घटना थियो।

पहिलो घटनाअन्तर्गत जिल्लाको तेलिया गाउँका १२ वर्षीय हर्कबहादुर विश्वकर्मा सोही गाउँका एकै परिवारका चार बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीको गिरफ्तारीमा परेपछि सनसनी मच्चियो। पक्राउ परेका विश्वकर्मा अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धनकुटाको थुनामा छन्। उनले प्रहरीसामु बलात्कार गरेको स्वीकार गरेका छन्। बलात्कृत हुने पनि नाबालक र बलात्कार गर्ने पनि नाबालक नै भएपछि प्रहरीलाई मुद्दा चलाउन अप्ठ्यारो परेको प्रहरी निरीक्षक विनोद कुमार शर्मा बताउँछन्। कानुनमा १० वर्ष सम्मकालाई जबर्जस्ती करणी गरे १० देखि १५ वर्ष जेल सजाय तोकिएको छ। त्यसमा नाबालकको हकमा आधा सजाय बेहोर्नुपर्ने नियम भएकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको निरीक्षक शर्मा बताउँछन्।

विश्वकर्माले आफ्नै छिमेकी ६ वर्षीया नरी (नाम परिवर्तन), धन (नाम परिवर्तन), वर्ष ५ की लिलु (नाम परिवर्तन) एवं वर्ष ४ की केशरी (नाम परिवर्तन) लाई आफ्नै घरमा खेल्न आएको मौका पारी पालैपालो बलात्कार गरेको पीडित बालिकाहरूका बाबु बताउँछन्। नरी र धनु जुम्ल्याहा हुन्।

पीडित बालिकाका बाबुले आफ्ना नाबालिक छोरीलाई निज विश्वकर्माले आफ्नै घरमा खेल्न बोलाएर पहिलो दिन दुइटीलाई र अर्को दिन अरू दुई जनालाई बलात्कार गरेको दाबी गरेका छन्। आफ्ना नाबालिक छोरीहरूलाई फकाई-फुल्याई चकलेट दिएर पालैपालो बलात्कार गरेको आरोप पीडितका बाबुले लगाएका छन्। बालिकाहरू रुँदै-कराउँदै, चिच्याउँदै आएपछि उनीहरू बलात्कृत भएको आफूले थाहा पाएको अभिभावकहरूले बताएका छन्।

प्रहरीले पीडित बालिकाहरूका बाबुले दिएको उजुरीका आधारमा हर्कबहादुरलाई पक्राउ गरेको हो। विश्वकर्मा नाबालक भए पनि जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक शरद कुमार तामाङ बताउँछन्। चारै जना बालिका बलात्कारको सिकार भएको जिल्ला अस्पताल धनकुटाको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। नाबालकहरूमा यौन अराजकता बढ्नु भनेको अश्लील च्यानल एवं इन्टरनेटको प्रभाव र गलत मानसिकताको उपज भएको धनकुटा बहुमुखी क्याम्पसका समाज विकास विषयका सह-प्राध्यापक नन्द न्यौपाने बताउँन्। न्यौपाने भन्छन्- 'अहिले बालबालिकाहरूले सहज रूपमा यौनजन्य सामग्री भेट्ने हुँदा उनीहरूमा कौतूहलता बढेर यस प्रकारका घटना घट्छन्।' जिल्लामा बाल-यौनशोषणको यो पहिलो घटना भने होइन, यसअघि पनि दुईवटा यस्तै घटना घटिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ती घटनामा भने प्रौढहरूको संलग्नता थियो।

धनकुटामै घटेको दोस्रो घटनामा आफूलाई बलात्कार गरेको आरोप लगाउँदै जिल्लाबाहिरकी एक युवतीले धनकुटा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पुनः सनसनी मच्चियो। दीपा (नाम परिवर्तन) ले गत शनिबार प्रहरीमा 'धनकुटाको एक होटलमा महेश (नाम परिवर्तन) भन्ने व्यक्तिले मलाई जबर्जस्ती बलात्कार गर्‍यो। मैले चिच्याउँदा पनि होटलको मालिकले सुनेको नसुन्यै गर्‍यो, रुँदै बाहिर निस्कँदा के भयो भनेर समेत सोधेन ? उसको पनि यसमा मिलेमतो छ, दुवैलाई पक्रेर आवश्यक कार्वाही गरियोस्' भन्ने जाहेरी दिएपछि आरोपी युवक तथा होटल मालिक दुवैलाई प्रहरी कार्यालयमा ल्याइयो। पक्राउ परेका आरोपी महेशले शारीरिक सम्पर्क भएको स्वीकार गरे पनि जबर्जस्ती गरेको भने स्वीकार गरेनन्। उनले दुवै जनाको राजीखुसीमै शारीरिक सम्पर्क भएको बयान दिएको स्रोतले जनाएको छ। उनले अघिदेखि नै ती युवतीसँग भेटघाट भैरहेको र उनलाई विवाह गर्न आफू राजी रहेको बताए पनि दीपाले नमानेको स्रोतले बतायो। उता होटल मालिकले भने दीपा र महेश दिनको ११ बजे आएर कोठामा बसेको र दुई बजे निस्किएर खाजा खाई सँगै बाहिर गएको बताएका छन्। उनले होटलमा कोही नकराएको र नरोएको पनि दाबी गरे। दुई दिनसम्म प्रहरी हिरासतमा रहेका महेशलाई जसरी भए पनि कारबाहीको भागी बनाउने अडान नछोडेकी दीपाले अन्ततः १ लाख ३० हजार रुपैयाँ लिएर उजुरी फिर्ता लिएको बताइन्छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको तथ्याङ्क हेर्दा बलात्कार र जबर्जस्ती करणीका मुद्दा थोरै परे पनि धेरै मुद्दा गाउँघरमै मिलाइने गरेको प्रहरी निरीक्षक शर्मा बताउँछन्। राजनैतिक दबाब, सामाजिक बन्धन एवं सामाजिक भयका कारण धेरै घटना प्रहरीमा आइनपुग्ने प्रहरी निरीक्षक शर्माको अनुभव छ। आएकामध्ये कतिपय घटना निवेदकको उजुरीपश्चात् पीडितले होसियारी नअपनाउँदा पीडक उम्कने गरेका छन्। शर्माका अनुसार पिडितले प्रहरीमा आउनुअघि नुहाइदिने, कपडा धोएर आउने वा फेरेर आउने, कोरीबाटी गरेर आउँदा निसानी हराएका कारण पीडकहरू उम्कने गरेका छन्। त्यसका अतिरिक्त पिडकले उजुरी दिए पनि सामाजिक डर र दबाबका कारण प्रहरीलाई नै पनि कतिपय मुद्दा चलाउन असजिलो भएको छ। शर्मा भन्छन्- 'पीडकले राम्रोसँग खुट्टा नटेकिदिँदा हामीलाई मुद्दा चलाउन अप्ठेरो हुन्छ।'

यसरी बलात्कारका घटना वृद्धि हुदै जानुमा समाज खुला रूपमा जाने क्रम रहेको तथा दोषीको मनोबल बढ्दै जानु नै मुख्य कारण भएको प्रध्यापक न्यौपानेको ठम्याइ छ। 'कतिपय मानिसमा विकृत मानसिकताले डेरा जमाउँदै लगेको छ।' प्राध्यापक न्यौपाने भन्छन्— 'यस्तो मानसिकता भएकाहरूले सामाजिक रवाफका आधारमा धम्क्याउने, तर्साउने गरेका छन्।' समाजमा उनीहरूको प्रतिष्ठा एवं राजनीतिक साँठगाँठका कारण पीडितहरू पैसा वा अन्य कुनै सर्तमा मेलमिलाप गर्न बाध्य हुन्छन्। यसरी मेलमिलाप गर्दा तत्काल पीडितले पैसा पाए पनि भविष्यमा पीडकहरूको मनोबल बढ्ने हुनाले घटना दोहोरिरहेको न्यौपानेको दाबी छ। प्राध्यापक न्यौपाने यस्ता घटनाको उपचार मेलमिलापबाट भन्दा पनि कानुनी रूपमा खोज्नु नै दीर्घकालीन समाधानको बाटो भएको बताउँछन्।

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड

हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक)  अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन।

विभिन्न सामाजिक सञ्जालमध्ये विश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल हो— फेसबुक। व्यक्तिगत भावना साटासाट गर्नेदेखि साहित्य, समाचार एवं विचारहरूको मञ्च बनेको छ फेसबुक। लामो समयदेखि छुट्टएिका इष्टमित्र तथा साथीभाइहरूबीच मिलन गराउने माध्यम पनि बनेको छ फेसबुक। हरेक क्रियाको पछाडि प्रतिक्रिया अवश्यै हुन्छ। यो नियमबाट फेसबुक पनि अछुतो छैन। त्यसो त पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, कजकिस्तान आदि ठाउँमा फेसबुकमाथि सेन्सरसमेत लगाइएको छ भने कैयौं मुलुकका कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध नै लगाउन थालिएको छ।

फेसबुक वालमा एउटा रोचक तथा सन्देशमूलक व्यंग्यात्मक कार्टुनले निकै चर्चा पायो। उक्त कार्टुनअनुसार अस्पतालको आईसीयूमा बसेको बिरामीसँग अन्तिम इच्छा सोध्दा ती व्यक्तिबाट 'फेसबुकको स्ट्याटस चेन्ज गर्ने' धारणा व्यक्त भएको थियो। उक्त कार्टुनले नै फेसबुकको लतलाई इङ्गति गर्छ। फेसबुककै माध्यमबाट कैयौंले जोडी पाएका छन् भने कैयौंको डिभोर्स भएको छ। सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता र दुरुपयोग उत्तिकै बढिरहेको छ। फेसबुक आफैंमा नराम्रो होइन, तर यसप्रतिको हाम्रो व्यवहार गलत पनि साबित हुन सक्ने स्थिति उत्पन्न भएको छ। अस्ट्रेलियामै पनि फेसबुक चलाएका बेला किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको हत्या गरेकी छिन्। यसबाट पनि बुझिन्छ, फेसबुकको लत कस्तो हुन्छ ?

अनैतिक तथा असान्दर्भिक कुरा ट्याग गरेर बेइज्जति गर्नेदेखि यौनसम्बन्धी अश्लील तस्बिरसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले परिवारमा बसेर फेसबुक खोल्न नमिल्ने स्थितिसम्म सिर्जना हुन थालेको छ। अरूको च्ारित्र हत्या गर्न र मान्छे जम्मा पार्न प्रयोग हुन थालेको छ फेसबुक अचेल। यसरी नै अर्काको नाममा फेसबुक खोल्ने, केटी बनेर पैसा असुल्ने तथा झुक्याउने, नेता तथा कलाकारको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्ने, कपी पेस्ट गर्दै प्रख्यात व्यक्तिहरूको तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिर जोड्ने जस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।

कामभन्दा पनि फेसबुकलाई जोड दिएको भन्दै कैयौं सञ्चारगृहलगायत सरकारी तथा निजी कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। कर्मचारीहरू फेसबुकमा मात्रै भुल्नाले बाध्य भएर त्यसलाई बन्द गर्नुपरेको कतिपय कार्यालयको तर्क छ। कुनै पनि कुराको सही मात्रामा प्रयोग गरे लाभ हुन्छ, अन्यथा त्यसका ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसरी नै फेसबुकलाई चाहिंदो भन्दा बढी चलाउँदा आफ्ना दैनिक क्रियाकलाप नै लथालिंग हुन पुग्छन्। यसबाट सरकारी कार्यालयहरूमा काम प्रभावित भएको छ भने मिडियाकर्मीहरू पनि यसबाट बच्न सकेका छैनन्। तरकारी के पकाउनेदेखि नुन चर्काे भएको सम्मको स्टाटस फेसबुकमा राख्नाले आफ्नै साथीलाई अप्ठेरो भैरहेको हुन्छ। (विद्युतीय कारोबार ऐन-२०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्था छ।)

यस्ता अनेक अवगुण सिर्जना गर्नु वा त्यसको विस्तार गर्नुभन्दा फेसबुकको सदुपयोगतर्फ लाग्नु आवश्यक छ। सही रूपमा प्रयोग गर्ने र सिक्नेका लागि ज्ञानको भण्डार पनि हो- फेसबुक। यति मात्र होइन साहित्यकार, पत्रकारलगायत सबैका लागि सहयोगी बनेको छ— फेसबुक। साहित्य मन पराउनेका लागि साहित्यिक गुरुहरू भेट्ने ठाउँ पनि हो फेसबुक, नयाँ कुरा सिक्ने र सिकाउनेहरूका लागि सहयोगी  बनेको छ— फेसबुक। अझ कैयौं अवस्थामा त यो रोजगारी प्राप्त गर्ने आधार पनि बनेको छ भने मित्रता प्रगाढ बनाउने चौतारी पनि हो यो। व्यापार-व्यवसाय गर्नेदेखि छिनछिनमा चेन्ज हुने स्टाटसले पलपलको खबर उपलब्ध हुने ठाउँ हो— फेसबुक।

मायाका भावना पोख्ने मात्र होइन प्रतिभा सेयर गर्ने चौतारी पनि हो— फेसबुक। त्यसैले सामाजिक सञ्जाल फेसबुक बुझ्नेका लागि श्रीखण्ड भएको छ भने नबुझ्नेका लागि खुर्पाको बिंड। एकछिनको चिनजानका भरमा फेसबुक साथी बनाउनु सबैभन्दा ठूलो भूल हो। राम्रो फोटो देख्दैमा फ्रेन्ड रिक्वेस्ट गर्ने र एसेप्ट गर्ने काम गर्नु हुँदैन। बढी साथी बनाउने कसरतमा लाग्नुभन्दा असल साथी खोज्नेतर्फ लाग्ने र नयाँ कुरा सिक्ने चौतारीका रूपमा लिनुपर्छ फेसबुकलाई। आफ्नो वालमा नराम्रो कुरा देख्नेबित्तिक्कै डिलिट गर्ने र अरूका प्रति पनि नकारात्मक व्यवहार नगर्ने हो भने यो समस्या तत्कालै हल गर्न सकिन्छ। दिनभर फेसबुकमै झुन्डिएर बिनाकाम समय खेर नफालौं। राम्रो कामको थालनी आफैंबाट गरौं। यसले पनि केही हदसम्म फेसबुकको दुरुपयोग रोक्न सघाउ पुग्नेछ। 



फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुराः


फेसबुक खोल्दा आफ्नो व्यक्तिगत विवरण पूर्ण रूपमा नराख्ने, किनभने जो कसैले पनि यसको दुरुपयोग गर्न सक्छन्।

फेसबुकले प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। त्यसैले यस्तो  कुरामा ध्यान दिने।

सम्पर्क नम्बरहरू सकभर नराखेकै राम्रो, किनभने व्यापारिक संघसंस्थाका फोनले हैरान पार्न सक्छ, साथै आफ्नो फोन नम्बर अपराधीको हातमा पनि पर्न सक्छ।

प्राइभेसी कायम राख्ने, जसले गर्दा आफ्ना जानकारी सीमित व्यक्तिले मात्र पाऊन्। फेसबुकको सामान्य जानकारी छैन भने बरु नचलाउने।

स्टाटस लेख्दा पर्याप्त ध्यान दिने, जस्तै 'म यति दिन घरबाहिर हुन्छु, घुम्न यहाँ जाँदैछु' जस्ता स्टाट्स लेख्नु भनेको चोर-डाँकालाई निम्तो दिनु पनि हुनसक्छ।

बिनाकाम फेसबुक चलाएर समय बर्वाद नगरौं, फेसबुकको सट्टा कोर्सबुक वा कुनै मन पर्ने साइट वा पुस्तक पढ्न सकिन्छ।

अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक फोटो ट्याग गर्ने काम कहिल्यै नगरौं, किनभने अनुसन्धानबाट त्यस्तो कुकार्य पर्दाफास हुन सक्छ। त्यसैले अरूको चरित्रहत्या हुने खालको कुरा नलेखौं जसले जीवनभर सास्ती दिन सक्छ।

फेसबुकमा भएका हरेक कुरालाई सत्य नमानौं, किनभने यसको चरम दुरुपयोग भैरहेको छ।

यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।